हेटौँडा, चैत १० । मकवानपुर प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित गाडी र चालकलाई नियन्त्रणमा लिएको छ । मकवानपुरको मनहरी गाउँपालिका–९ स्थित हरियाली सामुदायिक वन क्षेत्रबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित गाडी र चालकलाई नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मंगलबार बिहान करिब ६ः१० बजे राक्सिराङ गाउँपालिका–१ भाबरबाट मनहरी–९ खरंगा हुँदै पूर्व–पश्चिम राजमार्गतर्फ आउँदै गरेको बा.१३ च २०१४ नम्बरको (हात्ती) गाडीलाई शंका लागी चेकजाँच गर्ने क्रममा गाडीको पछाडि लोड गरी ल्याइएको २७ प्याकेट गाँजा फेला परेको हो ।
गाँजासहित प्रहरीले गाडी चालक मकवानपुर राक्सिराङ गाउँपालिका–४ सितताक निवासी अन्दाजी २० वर्षीय अक्कल प्रसाद स्याङतानलाई नियन्त्रणमा लिइएको छ । बरामद गाँजाको तौल गर्दा १७१ किलो २१ ग्राम रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । नियन्त्रणमा लिइएका चालक र गाडीलाई इलाका प्रहरी कार्यालय मनहरीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।











