मकवानपुर । लगातार परेकाे झरीका कारण पहिरो जाँदा बागमती प्रदेशकाे राजधानी हेटौँडा–काठमाडौँ जोड्ने दुई छोटा राजमार्ग सोमबार बेलुकादेखि अवरुद्ध भएका छन् । पहिराेका कारण कान्तिलोकपथ र मदन भण्डारीमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयाे ।
गए राति मकवानपुरको भीमफेदी गाउँपालिका–२ ज्यालटारस्थित मदन भण्डारीमार्ग हेटौँडा–भैसे–भीमफेदी–कुलेखानी–काठमाडाैं सडकखण्डमा पहिराका कारण बाटो अवरोध भएको प्रहरीले जनाएको छ । वर्षाका कारण पहिरो खसेर बाटो अवरोध भएको भन्ने जानकारी प्राप्त हुनासाथ उक्त स्थानमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोली खटिगएको तथा रातिमा पानी परिरहेकाले पहिरो हटाउन सक्ने अवस्था नरहेको कार्कीले जानकारी दिनुभयो ।
त्यस्तै गए राति नै मकवानपुरको बकैया–११ लामराङस्थित कान्तिलोक पथ सडकखण्डमा वर्षाका कारण पहिरो खसी दुवैतर्फी बाटो अवरोध भएको प्रहरीले जनाएको छ । उक्त स्थानमा प्रहरीले पहिरो हटाउनका लागि सडक विभागसँग समन्वय गर्दा जोखिमका कारण राति पहिरो हटाउन नसक्ने जानकारी प्राप्त भएको प्रहरी प्रवक्ता कार्कीले बताउनुभयो ।