हेटौंडा । हेटौंडामा भएको प्रथम हेटौंडा स्काउट क्याम्प–२०८० मा हेटौंडा–९, स्थित श्रीकृष्ण आदर्श स्काउट ट्रुप नृत्यमा पहिलो तथा सजावटमा तेस्रो भएको छ । नेपाल स्काउट, स्थानीय स्काउट कार्यालय हेटौंडा उपमहानगरपालिका समितिको आयोजनामा हेटौंडा–१८ स्थित गोरक्षनाथ माविमा भएको प्रतियोगितामा श्रीकृष्ण आदर्श स्काउट ट्रुप नृत्यमा प्रथम र क्याम्प सजावटमा तृतीय भएको विद्यालयले जनाएको छ ।
स्थानीय तहकामा स्काउटको माध्यमबाट यूवा तथा बालबालिकाहरुको सर्वाङ्गिण विकास गरी देश विकासमा अग्रसर असल नागरिक बनाउने उद्देश्यले जेष्ठ २६ देखि २८ गतेसम्म स्काउट क्याम्प सञ्चालन भएको थियो । क्याम्पमा नगरभित्रका २५ भन्दा बढी सामुदायिक तथा संस्थागत विद्यालयहरुका स्काउटमा आबद्ध प्रशिक्षार्थिहरू साथै जिल्लाका अन्य गाउँपालिकामा रहेका विद्यालयका स्काउटको समेत सहभागिता रहेको थियो ।
क्याम्पमा स्काउटरहरुले ओमेगा जम्प, सुपरम्यान जम्प,टायर क्रसिङ,मंकी ब्रिज क्रसिङ,कमान्डो ब्रीज क्रसिङलगायत स्काउटिङ गतिविधिमा सहभागिता जनाउनुका साथै निबन्ध प्रतियोगिता, नृत्य प्रतियोगिता, क्याम्प सजावट प्रतियोगिता आयोजना गरिएको थियो । त्यस्तै क्याम्पमा विद्यार्थीहरुलाई विपद् व्यवस्थापन तालिम, प्राथमिक उपचार तालिम, वातावरण संरक्षण सम्बन्धी तालिम समेत प्रदान गरिएको कार्यक्रम संयोजक दीपेन्द्र रोक्काले जानकारी दिनुभयो ।