मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाका विभिन्न चार स्थानमा सम्पन्न निःशुल्क शल्यक्रियासहितको आँखा शिविरबाट चार सय बढी लाभान्वित भएका छन् । भीमफेदी गाउँपालिका, बस्तिपुर जेसिस मनहरी, लायन्स क्ल्ब अफ हेटौंडा स्मारकको संयुक्त आयोजना एवम् नेपाल नेत्रज्योति संघ भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोग र हेटौंडा निवासी गोपेन्द्र भट्टराई र परिवार (हाल अमेरिका) को आर्थिक सहयोगमा शिविर सञ्चालन भएको हो ।

भिमफेदी गाउँपालिका–८ स्थित महादेवटार, वडा नम्बर–२ को भैंसे स्वास्थ्य चौकी, वडा नम्बर ९ स्थित बागमारा आधारभूत स्वास्थ्य सेवा केन्द्र र वडा नम्बर ६ स्थित भिमफेदी प्राथमिक स्वास्थ्य केन्द्रमा दुई दिने निशुःल्क आँखा शिविर सञ्चालन गरिएको थियो । शिविरमा ४८१ जनाको आँखा परिक्षण गरिएको गाउँपालिका अध्यक्ष हिदम लामाले बताउनुभयो । शिविरमा आएकामध्ये ३५ जनाको आँखाको शल्यक्रिया गर्नुपर्ने पाईएकोमा २८ जनाको निशुल्क शल्यक्रिया गरिएको उहाँले बताउनुभयो ।


अध्यक्ष लामाका अनुसार गाउँमै आँखाको उपचार तथा शल्यक्रिया सेवा पाउदा स्थानीय खुसी भएका छन् । आफ्नै गाउँठाउँबाट शल्यक्रियासहितको शिविरबाट आँखासम्बन्धि सेवा पाएपछि स्थानीय नागरिक खुसी भएको उहाँले जानकारी दिनुभयो । “गाउँपालिकाबासी र आसपासका नागरिकलाई मध्यनजर गरेर शिविरको आयोजना गरिएको हो, गाउँमै आँखासम्बन्धि सेवा पाउँदा नागरिक खुसी छन् ।” अध्यक्ष लामाले भन्नुभयो ।

यस्तै जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन भईरहेको छ । गाउँपालिकाले मंसिर २ गतेबाट १९ गतेसम्म वडास्तरीय निःशुल्क आँखा शिविर सञ्चालन गरिरहेको गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले जानकारी दिनुभयो । रोटरी क्लब अफ हेटौंडाको आयोजना र हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा यो शिविर सञ्चालन भइरहेको छ । शिविरबाट फेला परेका बिरामीको निःशुल्क शल्यक्रिया गरिने उहाँले बताउनुभयो । नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँच पुर्याउन शिविरको आयोजना गरिएको अध्यक्ष पुडासैनीले बताउनुभयो ।











