मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । आज दिउँसो ४ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री बानियाँले विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेस गर्ने कार्यसुची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिन भित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार नेपालको संविधानको धारा १६८ उपधारा (४) र प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिन लाग्नुभएको हो ।
साउन २० मा कांग्रेस–एमालेका ६४ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री बन्नुभएका बानियाँलाई सरकार जोगाउन ५६ जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक हुन्छ । यसअघि मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन कांग्रेससहित साझेदार दल एमालेले पनि ह्वीप जारी गरिसकेको छ ।प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीका २१, राप्रपाका १३ (सभामुख सहित), एकीकृत समाजवादीका ७, नेमकीपाका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद रहेका छन् ।











