मकवानपुर– मकवानपुरको मनहरी गाउँपालिकामा हावाहुरीले छाना उडाएका घरलाई गाउँपालिकाले जस्तापाता दिने भएको छ । बैशाख ५ गतेदेखि दिनहुँजसो आइरहेको हावाहुरीले छानो उडाएको घरलाई जस्तापाता दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभयो ।
गाउँपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले हावाहुरीले पुरै छानो उडाएको घरलाई २६ गेजको अढाई बण्डल जस्ता दिने र आंशिक रुपमा छानोमा क्षति पुगेको घरलाई डेढ बण्डल जस्ता वितरण गर्ने निर्णय भएको अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो । गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टको अध्यक्षतामा रहेको विपद् व्यवस्थापन समितिको बैठकले हावाहुरी पीडितलाई सहयोग गर्ने निर्णय गरेर क्षतिको अवस्थाका बारेमा बुझ्न स्थलगत अवलोकनको कार्य पनि सम्पन्न गरेको बताइएको छ । हावाहुरीका कारण सबैभन्दा बढी ५ नम्बर वडा प्रभावित भएको र अन्य वडाका प्रभावितको पनि लगत संकलनको कार्य भइरहेको गाउँपालिका अध्यक्ष उप्रेतीले बताउनुभयो ।
वडा कार्यालयमार्फत संकलन गरिएको लगतअनुसार मनहरी गाउँपालिका वडा नम्बर ५ मा ३८ घरको छानो पूर्ण रुपमा क्षति भएको र ५६ घरको आंशिक क्षति पुगेको छ । हावाहुरी पीडितलाई आज देखि नै जस्तापाता वितरण गरिनेछ । गाउँपालिकाले विपद्का बेला तत्काल वितरण गर्नका लागि भनेर खरिद गरिराखेको जस्ता ४९ बण्डल गाउँपालिकामै रहेकोले तत्काल वितरण गर्न सहज भएको गाउँपालिका अध्यक्ष उप्रेतीले बताउनुभयो । गाउँपालिकासँग भएको जस्तापाता पर्याप्त नहुने भएकाले थप जस्तापाता खरिदको प्रक्रिया छिट्टै अगाडि बढाइने उहाँले बताउनुभयो ।
यसैबीच हावाहुरीसहितको असिनापानीले पीडित बनेका मनहरी का–५ का स्थानीयलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरले त्रिपाल वितरण गरेको छ । रेडक्रस मकवानपुरका सभापति सूर्यचन्द्र न्यौपाने नेतृत्वको एक समूहले मनहरी गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष शुभराज थिङको उपस्थितिमा ९५ घरलाई वडा कार्यालयमै त्रिपाल वितरण गरेको हो ।