संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपीले गाजा क्षेत्रमा गम्भीर भोकमरीको चेतावनी दिँदै त्यहाँका एक तिहाइ जनसङ्ख्या धेरै दिनदेखि भोकै रहेको जनाएको छ ।डब्ल्यूएफपीले निकालेको विज्ञप्तिमा कुपोषणको अवस्था गम्भीर बन्दै गएको र करिब ९० हजार महिला तथा बालबालिकालाई तत्काल उपचारको आवश्यकता रहेको उल्लेख छ ।
एजेन्सीहरूका अनुसार गाजामा यो हप्ता भोकमरीको अवस्था अझै भयावह हुने अनुमान गरिएको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार आज मात्र कुपोषणका कारण थप ९ जनाको ज्यान गएको छ । इजरायलसँगको युद्ध शुरू भएयता कुपोषणका कारण ज्यान जानेको सङ्ख्या १ सय २२ पुगेको छ ।
इजरायलले गाजामा जाने सबै वस्तुहरूको नियन्त्रण आफ्नो हातमा राखे पनि मानवीय सहायता आपूर्ति रोकेको अस्वीकार गरेको छ । उसले गाजाको सङ्कटको जिम्मेवारी हमासमाथि थोपरेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०२३ अक्टोबर ७ देखि अहिलेसम्म गाजामा करिब ६० हजार मानिसले ज्यान गुमाइसकेका छन् ।