मकवानपुर, जेष्ठ २२ – बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२-८३ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । बुधबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री बहादुर सिंह लामाले नीति तथा कार्यक्रम पारित गरियोस भनि गर्नु भएको प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।

प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले जेठ १४ गते प्रस्तूत गर्नुभएको प्रदेश सरकारको नीति कार्यक्रममा तीन जना प्रदेश सभा सदस्यहरूले संशोधन प्रस्ताव राखेको भएपनि संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । नीति तथा कार्यक्रममाथि १९ गतेदेखि निरन्तर छलफल भएको थियो । छलफलमा उठेका विषयहरुको मुख्यमन्त्री लामाले सदनमा जवाफ दिने क्रममा हाँसोको लहर चलेको थियो ।आफ्नो बाल्यकाल सम्झिँदै मुख्यमन्त्री लामाले “कक्षा २ मा पढ्दा कक्षा ८ को दाजुको अंग्रेजी किताब कस्तो हुँदो रहेछ भनेर बोक्थें, तर, केही बुझ्दिन थिएँ,” भन्ने उदाहरण दिँदै विगतका नीति कार्यक्रम त्यस्तै भएको उल्लेख गर्दै अहिले सबैले बुझ्ने बनाएको दाबी गर्नुभयो । मुख्यमन्त्रीले “एकपटक फोहोर गरेपछि सफा गर्न गाह्रो हुन्छ”, “सरकारी घाम कहिले जाला घाम हुन्छ”, “छुस्स–छुस्सले फुस्स”, “ट्याक्क पारेर” “रोटी घुमेजस्तो फाइल घुम्यो”, “डिजास्टर भयो त भयो, कस्को बाउको के लाग्छ?” जस्ता अभिव्यक्तिले बैठक हलमा हाँसो चल्यो ।

आगामाी आर्थिक वर्षकाृ नीति तथा कार्यक्रममा साना–साना योजनाहरू हटाएर समग्र, प्रभावकारी योजनातर्फ सरकार लागेको मुख्यमन्त्री लामाले बताउनुभयो । प्रदेश सरकारको प्रशासनिक भवनको निर्माणलाई राष्ट्रिय गौरवको आयोजनामा पार्न निकै संघर्ष गर्नुपरेको जनाउँदै टेन्डर प्रक्रिया चाँडै अघि बढ्ने जानकारी दिनुभयो ।नेपालको संविधानले माध्यामिक तहसम्मको शिक्षा निशूल्क हुने व्यवस्था गरेको भएपनि केही शूल्क लिनुपर्ने धारणा राख्नुभयो । मुख्यमन्त्रीको सो अभिव्यत्तिप्रति प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य युवराज चौंलागाईले स्पष्टिकरण प्रश्न राख्नुभएको थियो ।

स्पष्टिकारण जवाफ दिनेक्रममा मुख्यमन्त्रीले “पहिले पहिले बिकम भनेको कम र आइए भनेको धेरै पढ्ने भन्ने बुझ्थें” भन्दै हल्का टिप्पणी गर्दा सभामुखलाई पनि हाँसो रोक्न गाहे परेको थियो । बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रमले संघीयताको सबलीकरणदेखि समावेशी विकाससम्मका कार्यक्रम अघि सारेको छ ।














