आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ता हुने भएको छ । उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम स्वीकृत गर्दै उम्मेदवारी दर्ताको मिति सार्वजनिक गरेको हो ।

मंसिर २ गते बिहान १० देखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिनुभयो । मंसिर ३ गते उम्मेदवारको विरोधमा उजुरी दिने सकिनेछ भने ४ गते बेलुकाम्म उजुरी उपर जाँचबुझ गरी निर्णय दिनुपर्नेछ ।

त्यस्तै मंसिर ५ गते दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । त्यसै दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिने छ । मंसिर १६ गते बिहान ७ देखि ५ बजेसम्म मतदान हुने आयोगले जनाएको छ । मतदान शुरु हुनुभन्दा ४८ घण्टा अगाडि प्रचारप्रसार निषेध अबधि लागू हुने जानकारी पनि आयोगले दिएको छ ।