हेटाैंडा । बागमती प्रदेश सभाको बैठक आगामी ६ असोजका लागि आह्वान गरिएको छ । बैठक असोज ६ गते आइतबार दिनको १ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।

गत १६ साउनमा विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेसँगै स्थगित भएको प्रदेश सभा बैठक डेढ महिनापछि बस्न लागेको हो ।

बैठकमा प्रदेश सभाअन्तर्गतका विभिन्न संसदीय समितिहरूबाट पारित भएका विधेयकका प्रतिवेदनहरू प्रस्तुत हुने कार्यसूची रहने प्रदेश सभा सचिवालयले जनाएको छ । यद्यपि, बैठकको कार्यसूची तय गर्न ५ असोजमा कार्यसम्पादन समितिको बैठक आह्वान गरिएको छ । शनिबार दिउँसो ३ बजे बस्ने बैठकले संसद्को कार्यसूची तय गर्ने प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिनुभयाे ।

प्रवक्ता गुप्ताका अनुसार ६ असोजमा बस्ने प्रदेश सभा बैठकमा शिक्षा, स्वास्थ्य तथा कृषि समितिबाट पारित भएका दुईवटा र उद्योग, पर्यटन तथा वातावरण समितिबाट पारित भएको एउटा प्रतिवेदन संसदमा प्रस्तुत हुनेछन् ।

शिक्षा, स्वास्थ्य तथा कृषि समितिबाट प्रदेश स्वास्थ्य ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन, प्रदेश कृषि विकास सम्बन्धमा बनेको विधेयकको प्रतिवेदन र उद्योग, पर्यटन तथा वातावरण समितिले प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन रहेका छन् ।

समितिहरूबाट दफावार छलफल गरी संशोधनसहित पारित भएका विधेयकका प्रतिवेदनहरू प्रदेश सभा सचिवालयमा दर्ता भइसकेको र तीनै विधेयकका प्रतिवेदनहरूमाथि सदनमा छलफल हुने सचिवालयले जनाएको छ ।