हेटौंडा । हेटौंडा–९, स्थित श्रीकृष्ण आदर्श इङ्लिस बोर्डिङ स्कुलमा २०३औँ गजल यात्रा तथा गजल प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ । गजल मञ्च मकवानपुरले नवसर्जक केन्द्रित अभियान सञ्चालनका क्रममा शनिबार कृष्ण आदर्शमा २०३औँ गजल यात्रा एवम् गजल प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो ।
नेपाली गजलको उन्नयन र प्रवद्र्धनमा केन्द्रित गजल मञ्च मकवानपुरले कृष्ण आदर्श स्कुलमा गजल यात्राको नियमित शृङ्खलाका साथै नवसर्जकमाझ गजल प्रशिक्षण सञ्चालन गरेको हो । गजल मञ्च मकवानपुरका अध्यक्ष केशव समर्पणको अध्यक्षतामा एवम् सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको प्रमुख आतिथ्यता कार्यक्रम भएको हो । कार्यक्रममा गजलकार सुनिल गौतमले नवसर्जक विद्यार्थीहरुलाई गजल प्रशिक्षण दिनुभएको थियो । गजलको तत्वहरु, गजल लेखनका प्राविधिक पक्षहरुलगायतका विषयमा गौतमले विद्यार्थीहरुमाझ प्रशिक्षण प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा विद्यालयका कक्षा ६ देखि ९ कक्षासम्म अध्ययनरत करिब ४० जना विद्यार्थीको सहभागिता रहेको थियो । कार्यक्रममा गजलकार पुरुषोत्तम आचार्य, डिबी वर्तौला, हरिप्रसाद पौड्याल, डिबी वर्तौला, छवि अनित्यलगायतले गजल बाचनका साथै गजल र पठन संस्कृतिका बारेमा धारणाहरु राख्नु भएको थियो । कार्यक्रममा विद्यालयका प्रिन्सिपल दूर्गाप्रसाद भट्टराईलगायत शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष समर्पणले गजल लेखनमा नयाँ पुस्ता तयार गर्न मञ्चले विविध कार्यक्रम गरिरहेको र त्यसलाई निरन्तरता दिइने जानकारी दिनुभयो ।