कोलकाता नाइट राइडर्सलाई एक रनले हराउँदै लखनउ सुपर जायन्ट्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्ले अफमा पुगेको छ ।गएराति इडेन गार्डेनमा भएको रोमाञ्चक खेलमा कोलकाता एक रनले पराजित भयो ।
टस हारेर पहिला ब्याटिङ गरेको लखनउले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रन बनायो । उसका रिंकु सिँहले अविजित ६७ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । जेसन रोयले ४५ रन जोडे । लखनउका रवि बिश्नोई र यश ठाकुरले २/२ विकेट लिए ।
त्यसअघि लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो । उसका निकोलस पूरनले ५८ रन बनाए ।कोलकाताका शार्दुल ठाकुर, सुनिल नारायण र वैभव अरोराले समान २–२ विकेट लिए ।
जितसँगै लखनउ १४ खेलमा १७ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ । प्ले अफबाट बाहिरिएको कोलकाताको १४ खेलमा १२ अंकका साथ तालिकाको सातौँ स्थानमा छ ।
हिजो भएको पहिलो खेलमा दिल्ली क्यापिटल्सलाई ७७ रनले हराउँदै चेन्नई सुपर किंग्स प्ले अफमा पुग्यो । १४ खेलमा १७ अंक रहेको चेन्नई तालिकाको दोस्रो स्थानमा र १३ खेलमा १८ अंक रहेको गुजरात टाइटन्स शीर्ष स्थानमा रहेको छ ।