प्रविधिसम्बन्धी अग्रणी अमेरिकी कम्पनी एप्पलले फिल्म निर्माणमा बर्सेनि एक बिलियन डलर खर्च गर्ने योजना सार्वजनिक गरेको छ । हलिउडमा प्रतिष्ठा बढाउने र स्ट्रिमिङ सेवामा दर्शकलाई लोभ्याउने एक महत्वाकांक्षी प्रयासको रुपमा यसलाई लिइएको ब्लुमबर्गले जनाएको छ । एप्पलले यस वर्ष हलमा रिलिज हुने र भविष्यमा थप फिल्मको स्लट तय गर्नेजस्ता साझेदारीको बारेमा स्टुडियोहरुसँग सम्पर्क गरिरहेको छ । सम्भावित रिलिजको सूचीमा मार्टिन स्कोरसेसको ‘किलर्स अफ द फ्लावर मुन’ समावेश छ, जसमा लियोनार्दो डिक्याप्रियोले अभिनय गरेका छन् । यो फिल्म अक्टोबर ६ मा प्रदर्शन हुने भेराइटी म्यागजिनले उल्लेख गरेको छ ।
म्याथ्यु वोन निर्देशित जासूस थ्रिलर ‘अर्गिल’, फ्रान्सेली शासक नेपोलियन बोनापार्टबारे रिडले स्कटले निर्देशन गरेको ‘नेपोलियन’बारे साझेदारीको प्रयास भइरहेको जनाइएको छ । विगतका वर्षको तुलनामा लगानीमा उल्लेख्य वृद्धि भएको छ । एप्पलका धेरैजसो अघिल्ला मूल फिल्महरु या त स्ट्रिमिङ सेवाका लागि विशेष भएका छन् वा सीमित संख्यामा थिएटरमा रिलिज भएका छन् । कम्पनीले कम्तीमा एक महिनाका लागि हजारौं हलमा फिल्म प्रदर्शन गर्ने जनाएको छ । एप्पलले अझै यी फिल्मलाई थिएटरमा कसरी वितरण गर्ने भनेर निधो गरिसकेको छैन । कम्पनीसँग विश्वभरका हजारौं हलमा एकैपटक फिल्म रिलिज गर्ने आन्तरिक च्यानल छैन, त्यसैले तेस्रो पक्ष वितरकसँग सम्पर्क गरिरहेको छ । तर पहिले एप्पलले सम्भावित साझेदारसँग वितरण शुल्क र मार्केटिङ बजेटमा सर्तहरु मान्नु जरुरी छ । स्टुडियोले ठूला फिल्मको प्रवद्र्धन गर्न १०० मिलियन डलर वा बढी खर्च गर्न सक्छन् ।प्यारामाउण्ट पिक्चर्सले स्कोरसेसको उक्त फिल्मलाई फिल्म थिएटरमा रिलिज गर्नेछ किनभने यो फिल्मको निर्माण नै उक्त स्टुडियोदेखि सुरु भएको हो । प्यारामाउण्टले वितरणबापत एप्पलबाट १० प्रतिशत शुल्क लिनेछ । स्टुडियोले एप्पलका लागि अन्य फिल्म रिलिज गर्नेबारे सहमति जनाएको छैन ।

धेरैजसो स्ट्रिमिङ सेवाहरू जस्तै, एप्पल प्लसले आफ्नो बजेटको बढी हिस्सा टीभी कार्यक्रममा खर्च गर्छन् । यसको पहिलो ठूलो हिट कमेडी श्रृंखला टेड लामो थियो । तर पनि एप्पलले आफ्नो स्टुडियोको स्थापनादेखि नै फिल्मलाई आर्थिक सहयोग गर्दै आएको छ । फिल्ममा स्मार्टफोन निर्माताको महत्वाकांक्षा यतिबेला बढ्यो जतिबेला यसले २०२१ को ‘कोडा’ को लागि सर्वश्रेष्ठ फिल्म विधामा ओस्कार अवार्ड जित्यो । यसका अघिल्ला फिल्मले यति धेरै चर्चा पाएनन् । कोडाले बक्स अफिसमा दुई मिलियन डलरभन्दा धेरै कमाइ गरेको थियो । टम हल्याण्ड अभिनित क्राइम ड्रामा ‘चेरी’ले सन् २०२१ रिलिज हुँदा खासै कमाउन सकेन । प्रविधिका दिग्गज कम्पनीहरु एप्पल र अमेजनले मनोरञ्जनमा आफ्नो लगानी बढाइरहेका छन् भने अन्य ठाउँमा लागत कटौती गरिरहेका छन् । अमेजनले हजारौं कामदारलाई निकालेको छ, जबकि एप्पलले कर्मचारीलाई अहिलेसम्म जान नदिई लागत कटौती गरिरहेको छ ।अनलाइनखबरबाट