काठमाडौँ । प्रतिनिधिसभाको पौष २५ गते बस्ने पहिलो बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्नुहुने भएको छ । बैठकको कार्यसूची तय गर्न आज संसद् भवन नयाँ बानेश्वरमा बसेको सर्वदलीय बैठकले सबै दलका तर्फबाट शुभकामना मन्तव्य राख्ने सहमति भएको संसद् सचिवालयले जनाएको छ ।
सर्वदलीय बैठकले प्रतिनिधिसभाको बैठक सञ्चालनसम्बन्धी नयाँ नियमावली तयार नहुँदा सम्म पुरानै नियमावली अनुसार बैठक सञ्चालन गर्ने पनि सहमति भएको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो । यस्तै आजको सर्वदलीय बैठकले पौष २६ गने बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यसूची पनि पारित गरेको छ ।
प्रधानमन्त्रीले विश्वासको मत लिने दिन पनि प्रमुख राजनीतिक दलहरूको तर्फबाट आ–आफ्ना धारणा राख्न समय माग भएको हुनाले बिहान ११ बजेका लागि बैठक बोलाउने सहमति भएको नेपाली काँग्रेसका मुख्य सचेतक रमेश लेखकले जानकारी दिनुभयो । यस्तै काँग्रेस नेता लेखकले प्रतिनिधि सभाको सभामुख र उपसभामुख चयनका लागि माघ ७ र ९ गते निर्वाचन मिति तोक्नेबारे पनि बैठकमा छलफल भएको जानकारी दिनुभयो ।