मकवानपुर– कमजोरी स्वीकार गरेपछि डिभिजन बन कार्यालय हेटौंडाले नियन्त्रणमा लिएको हेटौंडा उपमहानगरपालिकाको टिपर र स्काभेटर फिर्ता भएको छ । आज जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको ढुङ्गा, गीट्टी, बालुवा जिल्ला अनुगमन तथा समन्वय समितिको बैठकमा हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले कमजोरी भएको स्वीकार गरेपछि उपमहानगरपालिकाको टिपर र स्काभेटर फिर्ता गर्ने निर्णय गरेको हो ।

शनिबार हेटौंडा–१८ स्थित भोर्ले खोलामा अनाधिकृत रुपमा ढुङ्गा, गिटि उत्खनन् गरिरहेको अवस्थामा डिभिजन वन कार्यालय हेटौंडाले उपमहानगरपालिकाको एक्साभेटर र टिपर नियन्त्रणमा लिईएको थियो । ढुङ्गा गिटी वालुवा जिल्ला अनुगमन समितिद्धारा नियमित अनुगमनका लागि डिभिजन वन कार्यालय हेटौंडाका कार्यालय प्रमुख ईमनाथ पौडेलको नेतृत्वमा गठित उप समितिले अनुगमनको क्रममा हेटौंडा उपमहा नगरपालिका–१८ वाट अनाधिकृत रुपमा ढुङ्गा गिटि उत्खनन् गरिरहेको अवस्थामा फेला परेर उक्त एक्साभेटर र टिपर नियन्त्रणमा लिएको थियो । आजको बैठकमा मेयर महत आफै उपस्थित भएर उपमहानगरपालिकाबाट कमजोरी भएको र अब उपरान्त कुनै विकास निर्माणको काम गर्दा समन्वय गरेर काम गर्ने प्रतिबद्धता जनाएपछि एक्साभेटर र टिपर फिर्ता पठाईएको हो ।

बैठकले जिल्ला अनुगमन समिति एवं स्थानिय तहको समन्वय सहितको सहकार्य गरि उत्खन्न कार्यलाई अगाडी वढाउन, स्थानिय तहको स्पष्ट निति कार्यपालिकावाट पारित गरि कार्यान्वय गर्न, एक आपसमा मर्यादित तथा सम्मानित व्यवहार गर्न, हाललाई अनुगमन उपसमितिले देखाएको सक्रियता प्रति धन्यवाद दिने र हेटौंडा उपमहा नगरपालिकाको नियन्त्रणमा लिईएको एक्साभेट तथा टिपर फिर्ता गर्ने निर्णय गरेको अनुगमन समितिका संयोजक खुलालले बताउनुभयो । बैठकले प्राप्त अधिकारको ठिक प्रयोग नगरी ऐन नियम कार्यविधि पद्धति तरिकाको ख्याल नगरि जवरजस्ती खोला खहरेवाट अवैद्य उत्खनन् गर्न पठाउन पर्छ भन्ने स्थानिय सरकार (गाउपालिका, एवं हेटौंडा उपमहानगरपालिका) को वुझाई र व्यवहार सान्दर्भिक नभएको ठहर गर्दै यस्तो प्रकारको सोचाई वुझाई त्याग्न स्थानिय सरकार ( गाउपालिका, हेटौंडा उपमहा नगरपालिका) लाई आग्रह गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।
बैठकमा जिल्ला समन्वय समितिकी उपप्रमुख भगवती पुडासैनी, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, ईन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जिवन लामा, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, प्रहरी उपरिक्षक सुशिल सिंह राठौर, दुबै डिभिजन वन कार्यालयका प्रमुख, नेपाली सेना, सस्त्र प्रहरी, राष्ट्रिय अनुसंधानका प्रतिनिधिलगायतको सहभागिता थियो ।