काठमाडौँमा जारी नेपाल टी–ट्वान्टी लिग अन्तर्गत शनिवार भएका खेलमा जनकपुर रोयल्स र पोखरा एभेन्जर्सले जित हात पारेका छन् । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जनकपुर रोयल्सले विराटनगर सुपर किङ्सलाई ४९ रनले पराजित गर्दै चौथो जित हासिल गरेको छ ।
खेलमा १ सय ९० रनको लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४० रन मात्र बनायो । विराटनगरका लागि हुसेन तलतले सर्वाधिक ४२ रन बनाउँदा प्रदीप सिंह ऐरीले अविजित ३६ र गौराशुं शर्माले ३३ रनमा आउट भए ।
त्यसअघि पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो । जनकपुरको लागि समिउल्लाह शिनवारीले सर्वाधिक ७८ रनमा अविजित रहे । यस्तै चाल्डिक वाल्टनले २९, सन्दिप जोरा २० रन, ट्राभिन ग्रेफिथले १९ र खडक बोहोराले १२ रनको योगदान गरे ।
शनिवार नै भएको पहिलो खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी अल स्टार्सलाई ९ विकेटले पराजित गर्दै दोस्रो जित हात पारेको छ । लुम्बिनीले दिएको १ सय २८ रनको लक्ष्य पोखराले १८ ओभर २ बलमा १ विकेट गुमाएर भेट्टायो । पोखराका आसिफ शेखले ७७ र आरिफ शेखले २६ रन बनाए । त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय २७ रन बनाएको थियो ।