काठमान्डाैं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले पौने ८ बजे बैठक सुरु भएको हो । आजै गठन भएको मन्त्रिपरिषद्को पहिलो बैठक बसेको हो ।
प्रचण्डको नेतृत्वमा तीन उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । एमालेलगायतका दलहरूको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो भने सोमबार पद तथा गोपनीयताको शपथ गराउनु भएको थियो । पहिलो चरणमा गठन भएको मन्त्रिपरिषद्मा माओवादी केन्द्रबाट प्रधानमन्त्री र उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, एमालेबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र मन्त्रीहरूमा ज्वाला साह, राजेन्द्र राई र दामोदर भण्डारी हुनु हुन्छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने हुनुहुन्छ भने जनमत पार्टीबाट अब्दुल खान मन्त्री हुनु हुन्छ । मन्त्रीहरूको विभाग भने तोकिएको छैन ।











