काठमाण्डौ – नवनियुक्त उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्नु र अनियमिततालाई कडाइपूर्वक रोक्नु सरकारको पहिलो काम हुने बताउनुभएको छ । आज सोमवार मन्त्रालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको कार्यभार सम्हाल्दै मन्त्री श्रेष्ठले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्नु र अनियमिततालाई कडाइपूर्वक रोक्नु सरकारको पहिलो काम हुने बताउनुभएको हो ।
उहाँले सरकारको मुख्य उद्देश्य सुशासन कायम गरेर समृद्धिमा फड्को मार्नु भएको उल्लेख गर्नुभयो । उहाँले नागरिकले कानुनसम्मत रहेका कुनै पनि कामलाई भनसुन नगरिकन र घुस नखुवाइकन गर्नसक्ने बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले भ्रष्टाचार र पैसाका लागि मन्त्रालयमा हुने अवाञ्छित कार्य गर्ने दिन अब सकिएको बताउनुभयो । ‘पैसा र भ्रष्टाचारका लागि मन्त्रालय, कानुन बनाउने, मन्त्रालयलाई कब्जामा लिने दिन गए÷सकिए भनेर बुझ्दा हुन्छ’ मन्त्री श्रेष्ठले भन्नुभयो ।











