काठमाण्डौ – नवनियुक्त उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले सङ्कटको डिलमा रहेको देशको अर्थतन्त्रको चुनौतीलाई समाधान गर्ने बताउनुभएको छ । आज सोमवार अर्थमन्त्रीको पदभार ग्रहण गर्दै पौडेलले चुनौतीको डिलमा रहेको अर्थतन्त्रलाई अर्थ क्षेत्रका विज्ञ तथा सरोकारवाला सबैको राय तथा विश्वको अनुभवलाई समेत लिए समस्या समाधानमा लाग्ने प्रतिबद्धता जनाउनुभएको हो ।
अर्थमन्त्रालय र सम्बद्ध सार्वजनिक निकायका कामकारबाहीलाई अनलाइन प्रणालीमा लैजाने पहिलो निर्णयमा उहाँले हस्ताक्षर गर्नुभयो । अहिले अर्थतन्त्रमा चुनौतीहरू धेरै रहेको उल्लेख गर्दै उहाँले आफूले अर्थजगतका सबै पक्षसँग सहकार्य गरेर समस्या समाधान गर्नतिर लाग्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले चुनौतीपूर्ण रहेको अर्थतन्त्रलाई सुरक्षित ठाउँमा फर्काउन धेरै मेहनत गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । चालु खर्चको सीमालाई कम गर्ने दिशातिर उन्मुख हुँदै स्रोत व्यवस्थापनतिर लाग्नुपर्ने आवश्यकता रहेको उहाँले औँल्याउनुभयो । पहिले समस्याको लिस्ट तयार गरेर समाधानका लागि विज्ञहरूबाट राय लिने उहाँले बताउनुभयो । रुपन्देही २ बाट प्रतिनिधिसभा सदस्य जित्नु भएका उहाँ यसअघि पनि दुई पटक अर्थमन्त्री बनिसक्नु भएको छ ।











