मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा हरेक मतदान स्थलमा स्वास्थ्यकर्मीको टोली खटिने भएको छ । स्वास्थ्य संवेदनशीलतालाई ध्यान दिँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका सबै मतदान स्थलमा स्वास्थ्यकर्मीको टोली खटाउने भएको हो ।
मन्त्रालयको स्वास्थ्य आपत्‌कालीन तथा विपद् व्यवस्थापन एकाइ प्रमुख तथा मन्त्रालयका सह-प्रवक्ता डा. समीर अधिकारीका अनुसार हालसम्म हरेक मतदान केन्द्रमा प्राथमिक उपचार सेवासहित एकजान स्वास्थ्यकर्मी राख्ने र आवश्यकता परेको खण्डमा स्वास्थ्यकर्मीको संख्या बढाउन पनि सकिने बताउनुभयाे । यसरी खटिने स्वास्थ्यकर्मीले प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्ने, थप अन्य स्वास्थ्य सेवा आवश्यक हुने अवस्था आयो भने नजिकको स्थानीय स्वास्थ्य संस्थासँग समन्वय गर्ने समेत डा.अधिकारीले बताउनुभयाे ।
यस्तै हरेक मतदान स्थलबाट नजिक पर्ने स्थानीय स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राख्ने समेत निर्णय भएको डा.अधिकारीले बताउनुभयाे । हरेक मतदानस्थलमा अहेव, स्वास्थ्य स्वयंसेविका सहितका स्वास्थ्यकर्मी खटिने समेत डा.अधिकारीले बताउनुभयाे । यस्तै कोरोना संक्रमण, भर्खरै चिसो मौसम शुरु भएको हुँदा मौसमी रुघाखोकी तथा अन्य सङ्क्रमणको जोखिम हुने हुँदा मतदानस्थलमा जनस्वास्थ्यको मापदण्ड पालना गर्न कडाइ साथ पालना गर्न समेत डा. अधिकारीले बताउनुभयाे ।
निर्वाचन आयोगका अनुसार मंसिर ४ गते हुने निर्वाचनमा देशभर १० हजार ८९२ मतदानस्थल रहेका छन् । जसमा १४१ अस्थायी मतदान केन्द्र रहेका छन् । यस्तै निर्वाचनको दिन स्वास्थ्यकर्मीहरू समेत मतदानमा सहभागी हुने भएकाले आकस्मिक सेवा बाहेक स्वास्थ्य संस्थाको सेवा समेत बन्द हुने डा.अधिकारीले बताउनुभयाे ।