हेटौंडा – गणतन्त्र, संघीयता, धर्मनिरपेक्ष, लोकतन्त्रको रक्षा गर्दै विकास र समृद्धीमा फड्को मार्न लोकतान्त्रिक बाम गठबन्धनले जित्नुको विकल्प नभएकोमा नेताहरुले जोड दिएका छन् । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६, डुम्रेकुनामा बिहीबार लोकतान्त्रिक बाम गठबन्धनद्धारा आयोजित चुनावी सभामा बोल्दै गठबन्धनका उम्मेदवारहरुले यस्तो बताएका हुन् ।
मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार एवं नेकपा एकीकृत समाजवादीका स्थायी समिति सदस्य विरोध खतिवडाले एमाले नेतृत्वको गठबन्धन संविधान, गणतन्त्र, संघीयताको विरोधी भएको भन्दै लोकतान्त्रिक बाम गठबन्धनलाई जिताउँनै पर्ने बताए ।
नेकपा (माओवादी केन्द्र)की पोलिटब्युरो सदस्य, मकवानपुर ईञ्चार्ज तथा मकवानपुर २ (क) की प्रदेश सभा सदस्य उम्मेद्वार कुमारी मोक्तानले जनताले गठबन्धनकै संघीय र प्रदेश सरकार बनाउँन जिताए आफुहरुले विकास र निकास दिने प्रतिबद्धता जनाउँनुभयो । आफु चार पार्टीसँगै पिछडिएको जनता र किसानको उम्मेदवार भएको भन्दै देश र जनताको लागि गठबन्धनलाई भोट दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका मकवानपुरगढी गाउँपालिका ईन्चार्ज सरोज खनाल, नेपाली काँग्रेसका रामशरण धिताल, नेकपा (एकीकृत समाजवादी)का नेता विष्णु दाहाल लगायतको आतिथ्यता रहेको थियो । यसैबिच, लोकतान्त्रिक बाम गठबन्धनले मकवानपुरगढी ५ को सिमल्टारदेखी धादिङ–भालुखोलाहुँदै वडा नम्बर ६ को डुम्रेकुनासम्म घरदैलो गरेको थियो ।











