मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा क का उम्मेदवार प्रेम बहादुर पुलामी छिन्तुले घरदैलोलाई तिब्रता दिनुभएको छ । भोट हाल्न ४ दिन मात्र बाँकी रहँदा छिन्तुले मतदातालाई भोट अपिल गर्दै घरदैलोलाई तिब्रता दिनुभएको हो ।
उम्मेदवार छिन्तुले बुधवार बकैया र बागमतीका केहि वडाहरुमा घरदैलो गर्नुभएको छ । बिहान बकैया गाउँपालिका वडा नम्बर ३ स्थित कान्द्राङमाा भएको घरदैलोका क्रममा स्थानीयले पुल निमार्णका लागि पहल गरिदिन छिन्तु समक्ष आग्रह गरे । पुल नहुँदा गाउँपालिका कार्यालय रहेको स्थान हात्तिसुँढे आउजाउ गर्न, स्वास्थ्य सेवा प्राप्त गर्न, विद्यालय आउजाउ गर्न तथा सदरमुकाम हेटौंडा आउजाउ गर्न समेत समस्या भइरहेको उनीहरुको गुनासो छ । गुनासो सुनिसकेपछि गठबन्धन उम्मेदवार छिन्तुले यस स्थानमा बेलीब्रिज निमार्णमा पहिलो प्राथमिकता दिइने प्रतिबद्धता जनाउनुभयो । आफु यहि गाउँठाउँमा हुर्किएको मान्छे भएको बताउँदै छिन्तुले जनताको दुखलाई सुखमा परिणत गर्नु नै आफ्नो मूल उद्धेश्य रहेको जिकिर गर्नुभयो ।
उहाँले मुलुकको अस्थिरता चाहने र जनताको अधिकार कुण्ठित गर्ने प्रतिगामीहरु अहिले देशभक्त बनेर गाउँगाउँ भोट माग्न आइरहेको भन्दै त्यस्ता दुई चरित्र भएकालाई जनताले बेलैमा चिनेर पाखा लगाउनुपर्ने दाबी गर्नुभयो । उम्मेदवार छिन्तुले गठबन्धनको सरकार नै मुलुकको विकास र समृद्धी चाहने शक्ति भएको बताउनुभयो । उहाँले गठबन्धन सरकार बने जनताको सुनौलो दिन आउने पनि बताउनुभयो । त्यसका लागि मंसिर ४ गते रुख र गोलाकारभित्रको हँसिया हथौडामा मतदान गर्न आग्रह गर्नुभयो । यसैबिच, प्रदेशसभा सदस्य उम्मेदवार छिन्तुले आजै बामगती गाउँपालिका वडा नम्बर ४ झुरझुरे स्थित थली र ७ नम्बर वडाको धनसइमा पनि घरदैलो कार्यक्रम गर्नुभएको छ । घरदैलोमा गठबन्धनका क्षेत्र नम्बर १ का प्रचारप्रसार संयोजक दामोदर खनाल , नेकपा एकिकृत समाजवादीका नारायण तिमल्सिना, नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य जिवन गोले र समानुपातिक उम्मेदवार लक्ष्मी पाख्रिन लगायतको उपस्थिती रहेको थियो ।











