मकवानपुर । मंसिर ४ मा हुने निर्वाचनका उम्मेदवारसंग नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरले शैक्षिक शनिबार अन्तरक्रिया गरेको छ । मकवानपुरका नेकपा एमालेका प्रतिनिधि तथा प्रदेश सभाका प्रत्यक्ष तथा समाउपातिक उम्मेदवारहरुसँग शैक्षिक अन्तरक्रिया गरिएको हो । मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १ का कमल थापा,१ ख प्रदेश सभा एकलाल श्रेष्ठ ,प्रतिनिधि सभा क्षेत्र नम्बर २ का महेश बर्तौला र प्रदेश समानुपातिक उमेदवार नेकपा एमाले केन्द्रिय कमिटिका सदस्य भारती पाठक र अशोक ठकुरीको उपस्थितिमा शैक्षिक अन्तरक्रिया भएको हो ।
अन्तरक्रियामा प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार कमल थापाले एमालेसंग देशको विकास, समृद्धि र स्वाभिमानका निमित्त सदैव आफू लागेकाले बताए । शैक्षिक लगायतका राष्ट्रिय हितको पक्षमा रही जनताको भावनाअनुरुप अगाडि बढन एमालेको सूर्य ध्वजावाहक उम्मेदवारलाई जिताउनु पर्ने उनको धारणा थियो । यस्तै क्षेत्र नम्बर १ प्रदेश सभा ख का उम्मेदवार एकलाल श्रेष्ठले शिक्षा ऐन संसोधन गरी शिक्षकका तमाम खाले समस्याको अन्त्यका लागि आफूले सक्दो प्रयास गर्ने बताए । मकवानपुरलाई शैक्षिक हबको रुपमा स्थापित गर्ने, प्राविधिक विश्वविद्यालय हेटौंडामा निर्माण गर्दै हेटौंडामै रोजगारीको सिर्जना गर्न आफू लागि परेको बताए ।
यसै गरि प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार महेश बर्तौलाले शैक्षिक क्षेत्रमा देखिएका समस्याहरुको हल गर्न आफ्नो उम्मेदवारी रहेको जानकारी दिए । आफू बिद्यार्थी राजनीतिबाट यहा सम्म आएको भन्दै उनले भने नेकपा एमालेका उम्मेदवारहरुको जित पछि शैक्षिक क्षेत्रमा रहेका विकृति हटाउने छौ । उनले शिक्षकका पेशागतरुपमा देखिने समस्याको अन्त्यका लागि शिक्षकहरुसगै रहेर समाधानतर्फ अगाडि बढ्ने बताए । साथै प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य रामेश्वर रानाले देशमा दीगो शान्ति र समृद्धिका साथै शिक्षणलाई मर्यादित पेशा बनाउन र शिक्षकका अधिकारहरुलाई सुनिश्चित गर्न एमालेले जित्नु पर्ने जिकिर गरे ।
संगठन अध्यक्ष श्रीराम दाहालको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रिय सदस्य रामेश्वर रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश कमिटिका सदस्य रघुनाथ खुलाल, एमालेका जिल्ला सचिव नवीन सिग्देल,जिल्ला सचिवालय सदस्य पद्मा पौडेल, इन्द्र नेपाल र नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय सदस्य लक्ष्मी गजुरेल लगायतको उपस्थिति रहेको थियो।











