मकवानपुर – कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज मकवानपुरको तीन स्थानमा मेला लागेको छ । हिन्दु धर्मका भगवान विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी दिन आज मकवानपुरको तीन स्थानमा विशेष मेला लागेको छ ।
हरेक वर्षको एकादशीका दिन मकवानपुरको भीमफेदी गाउँपालिका–१, स्थित त्रिखण्डी मन्दिर, मकवानपुरगढी गाउँपालिकामा रहेको गढी दरबार र थाहा नगरपालिका–४, स्थित ऋषेश्वर मन्दिरमा एकादशीको विशेष मेला लाग्ने गरेको छ । मेलाका अवसरमा शुक्रबार बिहानैबाट ऋषेश्वर मन्दिर, त्रिखण्डी मन्दिर र मकवानपुर गढीमा भक्तजनहरुको घुइचो लागेको छ । गढी दरबारभित्र वंशगोपालको मन्दिर रहेको छ ।
मकवानपुरगढी गाउँपालिका–२ स्थित ऐतिहासिक मकवानपुरगढी दरवार परिसरमा बंशगोपालको मन्दिर रहेको र उक्त स्थानमा भव्य मेला लागेको छ । मकवानपुरगढी गाउँपालिकाको आमभञ्ज्याङ, सुकौरा, बुढीचौर, हेटौंडाको हटिया हर्नामाडी, बकैयाको ठिङ्गनलगायत मकवानपुरलगायत छिमेकी जिल्लाबाट मेला भर्न आउने गरेका छन् ।
त्यस्तै भीमफेदी गाउँपालिका–१, स्थित त्रिखण्डी मन्दिरमा पनि बिहानै देखि भक्तजनको घुईँचो रहेको छ । त्रिभुवन राजपथको हेटौंडा–काठमाडौं छोटोदुरीको सडकखण्डमा त्रिखण्डी मन्दिर पर्ने भएकाले प्रहरीको टोली खटाएर सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटना प्रभावित क्षेत्र र साना गाडी धेरै हिड्ने भएकाले क्षमता भन्दा बढी यात्रु बोक्ने यातायातको साधन चेकजाँच गरी सुरक्षा कडा पारिएको प्रहरी उपरीक्षक बामदेव गौतमले बताउनुभयो । यस्तै थाहा नगरपालिका–४, स्थित ऋषेश्वर मन्दिरमा पूजा गर्न आउने तिर्थालु र मेला हेर्न आउने मानिसहरुको व्यवस्थापन र सुरक्षाकालागि इलाका प्रहरीले कार्यलय पालुङबाट प्रहरी खटिएको उहाँले बताउनुभयो ।
सनातन धर्म अनुसार आषाढ शुक्ल एकादशीमा आँगनमा तुलसी रोप्ने र चार महिनासम्म पूजा गर्ने परम्परा छ । यो अवधिलाई चतुर्मास भनिन्छ । चतुर्मासभर ‘विष्णुप्रिया’को रूपमा पूजा गरेर तुलसीलाई हरिबोधिनी एकादशीमा भगवान् विष्णुसँगै विवाह गरिदिने चलन छ । एकादशीका दिन उपवास बसी नारायणको आराधना गर्ने र भोलिपल्ट द्वादशीमा द्वादशीमा हवन गरी विसर्जन गरिन्छ । यसै दिन नवान्न (नयाँ अन्न) को हवन गर्ने नेपाली परम्परा छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुत्नुभएका भगवान् विष्णु आज जागा हुनुहुने धार्मिक विश्वास छ । आज जागा हुनुहुने भगवान् विष्णुलाई पूजाआजासहित आराधना गर्न बिहानैदेखि नारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको हो ।