प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज समूह ‘ए’ मा रहेका त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेश तथा गण्डकी प्रदेश र एपीएफबीच खेल हुनेछ । आर्मी र सुदूरपश्चिमको खेल कीर्तिपुर मैदानमा तथा गण्डकी र एपीएफको खेल मूलपानी मैदानमा हुनेछ । दुवै खेल बिहान साढे ९ बजेदेखि सुरु हुनेछन् ।
समूह ‘ए’ मा समान दुई खेलमा ४ अङ्कका साथ एपीएफ शीर्ष र गण्डकी प्रदेश दोस्रो स्थानमा रहेका छन् । समान १ खेलमा अङ्क जोड्न नसकेको कर्णाली तेस्रो, आर्मी चौथो र दुई खेलमा अङ्क नजोडेको सुदूरपश्चिम पुछारमा छ । त्यस्तै समूह ‘बी’ मा तीन खेलमा ६ अङ्कका साथ पुलिस क्लब शीर्ष र एक खेलमा २ अङ्क रहेको मधेस प्रदेश दोस्रो, दुई खेलमा २ अङ्क रहेको लुम्बिनी प्रदेश तेस्रो स्थानमा छ । तीन खेलमा दुई अङ्क रहेको प्रदेश एक चौथो र तीन खेलमा अङ्क जोड्न नसकेको बाग्मती पुछारमा छ ।
आइतवारदेखि सुरु भएको प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा एपीएफ, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश तथा समूह ‘बी’ मा पुलिस क्लब, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश, मधेस प्रदेश र प्रदेश–१ रहेका छन् । प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ । यस्तै उपविजेताले ५ लाख र सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार रुपैयाँ पाउने छन् ।