राज्य पुनर्संरचनासँगै संघीयता स्थापना भएपछि हेटौँडाले आज साँझसम्म दोस्रो नयाँ मेयर पाउने लगभग निश्चित छ । मेयरका लागि एमालेबाट संविधानसभा सदस्य अनन्त प्रसाद पौडेल र गठबन्धनबाट एकीकृत समाजवादीकी मिनाकुमारी लामाबीच प्रतिस्पर्धा भइरहेको छ । हेटौँडाका १९ वटा वडाबाट कुल ७३ हजार ४ सय १४ खसेकोमा अब ६ हजार ७ सय ४५ मतगणना हुन बाँकी छ । जसमा ९, १०, ११, १२ र १३ नम्बर वडाको मत गणना जारी छ ।
हेटौँडाको मतगणना सकिएका वडामा लामाले ल्याएको मत अनुपातमा ठूलो फेरबदल नभए सम्भवतः उनी नै मेयर हुनेछिन् । उनी मेयर हुँदा एउटा रोचक चाहिँ के भने एमालेमा रहँदा आफ्नै राजनीतिक गुरुलाई हराएर लामाले नयाँ इतिहास बनाउनेछिन् । ६ हजार बढी मतगणना बाँकी रहेकाले उनले साँझसम्म अन्तिम निर्णय कुर्नुपर्नेछ ।तर, एमालेबाट मेयर उम्मेदवार भएका पौडेलले भने मेयर हुने आशा राखेका छन् । आफ्नो पकडको वडाको मतगणना भइरहेकाले सम्भावना कायम नै रहेको प्रतिक्रिया दिए । ‘एमालेको राम्रो रहेको वडाको मतगणना भइरहेको छ । मैले अग्रता लिन पनि सक्छु । सम्भावना अझै छ,’ पौडेलले शिलापत्रसँग भने । आफ्नै गढमा दोस्रो हुनुको कारणबारे पनि उनले बताए । पौडेलले एमालेविरुद्ध गठबन्धनका पाँच दल मिल्नु र नगरवासीले पञ्चायतकालीन नेतालाई नयाँ अनुहार मानेर मत दिनुले आफू पछाडि परेको प्रतिक्रिया दिए । एमालेविरुद्ध सत्ता साझेदार कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबीचको गठबन्धन छ । एकीकृत समाजवादीले पनि लामालाई समर्थन गरेको थियो ।
‘हेटौँडा हाम्रो गढ हो । हामीलाई हराउन सबै दल मिलेका छन् । त्यसकारण उनीहरूको मत बढी आउनु स्वाभाविकै हो । अझै पनि मेरो सम्मानजनक मत आएको छ,’ पौडेलले भने । गठबन्धन नभई एक्लाएक्लै निर्वाचन लडेको खण्डमा एमालेलाई हराउन कुनै आँधीबेरीले रोक्न नसक्ने उनको भनाइ छ । पौडेलले नयाँ पुस्ताका नगरवासीले पञ्चायतकालीन नेतालाई नयाँ अनुहार ठान्नुले पनि आफू पछाडि परेको बताए । राप्रपाबाट हेटौँडाको मेयरमा दिपकबहादुर सिंह मैदानमा छन् । हालसम्मको मतपरिणाम अनुसार सिंह तेस्रो स्थानमा छन् । उनले अप्रत्याशित मत ल्याइरहेका छन् । गत निर्वाचनमा राप्रपाले मेयरमा ६ हजार ५ सय मात्रै मत ल्याएको थियो । हाल उनले १७ हजार मत कटाइसकेका छन् । पौडेलले पञ्चातकालीन समयमा हेटौँडाभित्र डेढ किलोमिटर सडक कालोपत्रे गर्न नसक्नेहरूलाई नयाँ अनुहारका रूपमा युवापुस्ताले मत दिँदा आफू पछाडि पर्नु परेको उनको प्रतिक्रिया छ । सिंहले एमालेको मत काटेका छन् । ७ वटा चुनाव चिह्नमा छाप लगाउनु पर्नेमा मेयरमा हलो चिह्न र अन्यमा सूर्यमा छाप लगाएको अधिक मतपत्र पाइएको हो । ‘एमालेको मत क्रस भएको छ । अन्तर्घातका कारण पनि पछाडि परियो,’ उनले भने । हेटौँडामा ३० वर्षदेखि एमालेका जनप्रतिनिधि निर्वाचित हुँदै आएका थिए ।