स्थानीय तहको निर्वाचन तालिका अनुसार आज मनोनयन दर्ताको अन्तिम दिनमा उम्मेदवारी दर्ता गराउनका लागि नेपाली कांग्रेसले मकवानपुरका स्थानीय तहका प्रमुख र उपप्रमुखमा आफ्ना उम्मेद्वारहरुको टुङ्गो लगाएको छ । वडा अध्यक्षका उम्मेदवारको टुङ्गो लगाउन भने अझै बाँकी रहेको छ । मकवानपुरका एक सय २ वटै वडाहरुमा पनि गठबन्धनबाटनै उम्मेद्वार छनोट गर्ने भनिएपनि अहिले सम्म त्यसको टुङ्गो लागिसकेको छैन ।
कांग्रेस संसदीय समिति मकवानपुरले मकवानपुरको गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष उम्मेदवारहरू टुंग्याएको छ । गठबन्धनको सहमति अनुसार आफ्नो भागमा परेका अध्यक्ष र उपाध्यक्षको उम्मेदवार कांग्रेस आइतबार साँझ टुंग्याएको हो । हेटौंडा र थाहा नगरको उपमेयरको नाम भने टुंगिने अन्तिम चरणमा रहेको जनाइएको छ । कांग्रेसको भागमा परेको मकवानपुरको बकैया गाउपालिकामा अध्यक्षमा धर्मराज लामिछाने, मकवानपुर गढी गापा अध्यक्षमा दोर्जे लामा स्याङतान, कैलाश गापा अध्यक्षमा लोकबहादुर मुक्तान, राक्सीराङ गाउँपालिका अध्यक्षमा राजकुमार मल्ल, मनहरी गाउँपालिका अध्यक्षमा रञ्जन कालाखेती, बागमती गाउँपालिका उपाध्यक्षमा फणिन्द्र तिमल्सिना, भीमफेदी गाउँपालिका उपाध्यक्षमा मोमलाल दोङ, ईन्द्रशरोबर गाउँपालिका उपाध्यक्षमा निर्मला रुम्बालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।











