विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा ब्राजिलले बोलिभियालाई हराएको छ । आज बिहान भएको खेलमा ब्राजिलले बोलिभियालाई ४–० गोलले हराएको हो । ब्राजिलका रिचार्लिसनले दुई तथा लुकास पाक्वेटा र ब्रुनो गुइमारेसले एक/एक गोल गरे ।
दक्षिण अमेरिकी छनोटको शीर्ष स्थानमा रहेको ब्राजिल यसअघि नै कतारमा हुने विश्वकपका लागि छनोट भैसकेको छ । अर्को खेलमा पेरुले पाराग्वे र उरुग्वेले चिलीलाई समान २–० ले हराएका छन् । कोलम्बियासँग भेनेजुएला १–० ले पराजित भएको छ । यस्तै अर्जेन्टिना बराबरीमा रोकिएको छ । अर्जेन्टिना इक्वेडरसँग एक–एक गोलको बराबरीमा रोकिएको हो । खेलको २४ औं मिनेटमा जुलियन अल्भारेजले गोल गरी अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । तर, खेलको इन्जुरी समयमा इन्नर भ्यालेन्सियाले गोल गरी इक्वेडरलाई बराबरीमा ल्याए । अर्जेन्टिनाले यसअघि नै विश्वकपमा स्थान पक्का गरेको छ ।











