चिनियाँ विदेशमन्त्री एवम् राज्यपरिषद् सदस्य वाङ यी स्वेदश फिर्ता हुनुभएकाे छ । नेपालको त्रिदिवसीय भ्रमण सकेर उहाँ आज आइतवार दिउँसाे स्वदेश फर्किनुभएकाे हाे । वाङ यी गएकाे शुक्रवार नेपाल आइपुग्नुभएकाे थियाे ।
चिनियाँ विदेश मन्त्रीलाई बिदाइ गर्न परराष्ट्र सचिव भरतराज पाैड्याललगायतकाे टाेली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेकाे थियाे । चिनियाँ विदेशमन्त्री वाङले आजै राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष शिष्टाचार भेट गर्नुभएको थियो । यस्तै आज नै उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्नुभएकाे थियाे । यस्तै हिजाे शनिवार बेलुका वाङले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुभएको थियो । त्यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको थियो । त्यही क्रममा विभिन्न नौ बुँदे समझदारी गरिएको थियो ।