मकवानपुर – बागमती प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईं प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकालले राजनैतिक प्रतिसोध साँध्न खोजेको आरोप लगाउनु भएको छ । बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष चौलागाईले राजनतिक प्रतिसोध साध्न आफूलाई र कर्मचारीलाई मानसिकरुपमा काम गर्न हतोत्साहित बनाउने काम गरिरहेको आरोप लगाउनुभयो ।
पत्रकार सम्मेलनमा कार्यकारी उपाध्यक्ष चौलागाईले युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले प्रदेश युवा परिषदलाई काम गर्ने वातावरण नदिएको बताउनुभयो । एकातर्फ काम गर्ने वातावरण नदिने अर्कोतर्फ काम भएन भनेर मन्त्री नै राजनितीक प्रतिशोध साध्न उद्यत देखिएको उहाँले आरोप लगाउनुभयो । मन्त्रालयले कार्यकारी उपाध्यक्षलाई प्रगति विवरण पठाउन निर्देशन दिएको १४ दिनपछि कार्यप्रगति चित्त बुझ्दो नभएको भन्दै स्पष्टीकरण सोधेपछि चौलागाईले आज पत्रकार सम्मेलन गर्दै यस्तो बताउनुभएको हो । मन्त्रालयले माघ ११ गते कार्यप्रगति विवरण पेश गर्न निर्देशन दिएको थियो । विवरण पेश गरिएसंगै माघ २५ गते स्पष्टीकरण सोधीएको छ ।
२०७८ असोज ६ गते परिषद बैठकबाट स्विकृत योजना कार्यान्वयन गरिएको उपाध्यक्ष सन्तोष चौलागाईले बताउनुभयो । सामाजिक विकास मन्त्रीको अध्यक्षतामा बसेको परिषद बैठकको निर्णय कार्यान्वयन गरिएको साथै मन्त्रालयसंग समन्वय नभएको आरोप मिथ्या रहेको उहाँले बताउनुभयो । मन्त्रालयले राजनीतिक पूर्वाग्रह नराखी कार्यक्रम प्रभावकारी बनाउन खोजे सहकार्यको लागि आफु तयार रहेको समेत उहाँले बताउनुभयो । मन्त्रालय र मन्त्रीस्तरको सुझाब कार्यान्वयन गर्न कुनै समस्या छैन, तर राजनीतिक पूर्वाग्रह राखेर स्पष्टीकरण सोध्नु अन्याय भएको भनाई छ ।
अहिले युवा तथा खेलकुद मन्त्रालय मातहतमा रहेको प्रदेश युवा परिषदले मन्त्रालयसंग नियमित समन्वय गरिरहेको बताउनु हुँदै चैलागाईले मन्त्रालयले मागेको प्रगति विवरण समयमै बुझाईएको समेत बताउनुभयो । परिषदले बनाएका भावी योजनाका सन्दर्भमा मन्त्रालयले सुझाब दिने हो भने पनि ती सुझाब समेट्न सकिने उहाँको भनाई छ । २०७८ असार १ गते चार वर्षे कार्यकालका लागि नियुक्त हुनु भएका कार्यकारी उपाध्यक्ष हटाएर आफु अनुकुलको कार्यकारी उपाध्यक्ष नियुक्ती गर्ने योजनाका साथ मन्त्रालय र मन्त्री अघि बढेको उहाँले बताउनुभयो । राजनैतिक प्रतिसोधका कारण मन्त्रालय योजना फेर्नु भन्दा कार्यकारी उपाध्यक्ष फेर्ने दाउमा अघि बढेको उहाँले आरोप लगाउनुभयो ।
उहाँले परिषदले कार्यक्रम स्विकृत गरेको २ महिना भित्रै प्रदेशको लोगो र स्लोगन सार्वजनिक गरेको, युवा परिषदको वेभ साइट निर्माण गरेको, विभिन्न स्वीकृत कार्यक्रमहरु कार्यान्वयन गरेकोलगायत दुई महिनाभित्र थुप्रै काम भएको उहाँले बताउनुभयो । केहि दिन अघि बागमती प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामीला तथा कानून मन्त्री कृष्णप्रसाद शर्मा खनालले अघिल्लो सरकारले गरेका नियुक्ती खारेज गर्ने बताउनुभएको थियो ।