मकवानपुर – बागमती प्रदेशको राजधानी हेटौंडामा बुधबार (आज) बाट एक हप्ते कोरोना बिरुद्धको खोप अभियान सुरु भएको छ । राजधानी हेटौंडाको मुख्य चोक (बुद्धचोक) मा सर्वसाधारणलाई लक्षित गरि एक हप्ते कोरोना विरुद्धको खोप अभियान सुरु गरिएको हो ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले बुधबार एक कार्यक्रमकाबीच खोप अभियानको शुभारम्भ गर्नुभएको हो । सरकारले चैत महिनाभित्र कोरोनाविरुद्धको पूर्ण खोप घोषणा गर्ने तयारी गरेसँगै हाल जिल्लाभर खोप अभियान सञ्चालन भइरहेको छ । जिल्ला कोभिड व्यवस्थापन समिति, हेटौंडा उपमहानगरपालिका, स्वास्थ्य कार्यालय, पुरानो नारायणी यातायात कम्पनी, राडो नेपाल, एशोसिएसन अफ प्राइभेट हेल्थ ईन्टिच्युट नेपाललगायत संघसंस्थाको सहकार्यमा फागुन ३ गते खोप सप्ताह कार्यक्रम सञ्चालन गरिने बताईएको छ । यस अघि पनि जिल्लाका विभिन्न स्थानीय तहहरुमा खोप अभियान सञ्चालन गरेर खोप लगाउने कार्य गरिएको थियो । जिल्लामा हालसम्म ८७ प्रतिशतले कोरोनाविरुद्धको दोस्रो मात्रा खोप लगाइसकेका छन् ।











