मकवानपुर – मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले कृषि क्षेत्रमा लागेर उत्कृष्ट काम गर्ने कृषकलाई पुरस्कृत गरेको छ । व्यवसायिक कृषि पेशामा लागेको गाउँपालिकाका ६ जना कृषकलाई प्रोत्सहन स्वरुप नगदसहित सम्मान गरेको हो ।

गाउँपालिकाले व्यवसायिक कृषि (बाली) तर्फ ३ जना र पशुपालन तथा कुखुरापालन तर्फा ३ जना कृषकलाई सम्मान गरेको हो । बिहीबार एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष बिदुर हुमागाईले उहाँहरुलाई जनही ३० हजार सहित प्रमाणपत्रले सम्मान गर्नुभएको हो । पुरस्कार वितरण गर्दै अध्यक्ष हुमागाईले व्यवसायिक किसान तथा कृषि कर्म हेर्नको लागि टाढा टाढा जानुपरेको कुरा स्मरण गराउँदै अहिले व्यवसाय हेर्नको लागि विभिन्न ठाउँबाट गाउँपालिकामा किसानहरु आउँदा गर्व लाग्ने गरेको बताउनुभयो । उहाँले कृषकलाई प्रोत्साहन गर्ने कुरामा गाउँपालिकाले सधैं सहयोग गर्ने समेत बताउनुभयो ।
कार्यक्रममा उत्कृष्ट पशुपालनतर्फ मकवानपुरगढी–३, को पिएसपि एग्रो प्रालिका संजय नेपाल, वडा नम्बर–४ को पाख्रीन एकीकृत कृषि तथा पशु फर्मका सुर्य बहादुर पाख्रीन र नम्बर–७ को मखमली बाख्रा फर्मका गोकुल लम्साल पुरस्कृत हुनुभएको छ । यसैगरी कृषि (बाली) तर्फ वडा नम्बर–३ को तिमल्सिना कृषि तथा फलफुल फर्मका बद्रीप्रसाद तिमल्सिना, वडा नम्बर–२ को शितल कागती कृषक समुहका वीर बहादुर स्याङ्तान र वडा नम्बर–८ को चन्द्र सुर्य कृषि तथा पशुपंछी फर्मका सुर्यमाया दोङलाई पुरस्कृत हुनुभएको हो ।

गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक विनियोजित कार्यक्रमको स्वीकृत कृषि कार्यक्रम अन्तर्गत उत्कृष्ट कृषकहरुलाई सम्मान गरिएको कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताउनुभयो । सम्मान कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हर्कमाया रुम्बा, प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी, वडा अध्यक्षहरु बखानसिं पाख्रीन, भागवत घिमिरे, रामप्रसाद तिमल्सिना, कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरी लगायतकाको उपस्थिति रहेको थियो ।













