काठमाडौं – सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको आठौँ अधिवेशन आजदेखि शुरु हुँदैछ ।राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा, ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आज अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गर्नुभएको थियो । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षता बस्ने कार्यव्यवस्था परामर्श समितिले यस बर्खे अधिवेशनको पहिलो दिन बैठकमा पेश हुने कार्यसूची तय गर्नेछ। बैठकको प्रारम्भमा अधिवेशन आह्वान र मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाइने छ। आजको बैठकमा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताले सम्बोधन गर्नुहुने छ । पछिल्लो पटक निर्वाचित डा खिमलाल देवकोटा र दृगनारायण पाण्डे अधिवेशनमा नयाँ प्रवेशी सांसद हुनुहुने छ ।