मकवानपुर– हेटौंडामा बुधबार साँझ ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१५, रातोमाटेमा ट्रक दुर्घटना हुँदा ना ५ ख १८६४ नम्बरको ट्रकका चालक र सहचालकको मृत्यु भएको हो ।
चालकको हेटौंडास्थित सञ्चो हस्पिटलमा र सहचालकको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभएको छ । प्रहरी प्रवक्ता रिमालका अनुसार मृतक अन्दाजी ३०÷३५ बर्षका चालक र २५÷३० बर्षका सहचालकको सनाखत हुन सकेको छैन ।
बारा जिल्लाबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ ख १८६४ नम्बरको ट्रक अनियन्त्रित भई अगाडि गुडिरहेको ना ५ ख ५९६३ नम्बरको ट्रकलाई ठक्कर दिएर पल्टिएको प्रहरी प्रवक्ता रिमालले जानकारी दिनुभएको छ । दुर्घटनामा ना ५ ख ५९६३ नम्बरको ट्रकका चालक ५० बर्षीय ध्रुब चौधरी र २० बर्षीय सहचालक विकेश चौधरी घाइते भएका छन् । घाइते दुवैजनाको हेटौंडास्थित चुरेहिल हस्पिटलमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।