मकवानपुर– मकवानपुरको भीमफेदी स्थित क्षेत्रीय कारागारबाट फरार एक जना कैदीलाई नौ महिनापछि पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत वर्ष कात्तिक ३० गते कारागारबाट फरार भएका उनलाई शुक्रबार पक्राउ गरेको हो ।

प्रहरीले आइतबार पत्रकार सम्मेलन गर्दै कारागारबाट भागेका २५ वर्षीय कुलदिपराज धामीलाई नवलपरासीको देउचुली नगरपालिकाबाट पक्राउ गरेको जनाएको छ । ‘लामो समयदेखि खोजी कार्य जारी रहेको थियो । मकवानपुरबाटै गएको टोलीले उनलाई पक्राउ गरेको हो । उनी कञ्चनपुरबाट चितवनतर्फ आउँदै थिए । ’, मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिं राठौरले भन्नुभयाे । उनी जेलका सहनाइके थिए । उनलाई आइतबारै कारागार चलान समेत गरिएको छ । उनी कर्तव्य ज्यान मुद्धामा २० वर्ष कैद भुक्तान गरिरहेका थिए । उनले सुनसरीको रामधुनी नगरपालिका–७ बस्ने २१ वर्षीया रोजिन गुरुङको हत्या गरेका थिए । ‘पर्खाल नाघेर भागेको अनुसन्धानको क्रममा खुलेको छ ।’, प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार उनी ५ वर्षदेखि सजाय भोगिरहेका थिए ।