मकवानपुर– नेपाल सरकारको सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत मकवानपुरका २ सय घरको छानो फेरीने भएको छ । मकवानपुर जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ अन्तरगत चार वटा पालिकामा खरको छाना भएका घरमा बसोबास गर्दै आएका २ सय घरको छानो फेरिने भएको हो ।

संघीय सरकारको सघन शहरी तथा भवन निर्माण योजना अन्तर्गत सुरक्षित नागरिक आवास कार्यक्रम मार्फत मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ अन्तरगत हेटौंडा उपमहानगरपालिका, मनहरी गाउँपालिका, कैलाश गाउँपालिका र मकवानपुरगढी गाउँपालिकामा ५० वटाका दरले खरको छानो फेरीने भएको हो । सोमबार जिल्ला समन्वय समिति मकवानपुरमा बसेको सुरक्षित नागरिक आवास समन्वय समितिको बैठकले आर्थिक वर्ष २०७५÷०७६ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार जिल्लाको ४ पालिकामा कार्यक्रम कार्यान्वयनका लागि स्वीकृति प्रदान गरिएको हो ।
सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत आर्थिक वर्ष २०७५÷०७६ को स्वीकृत कार्यक्रम अनुसार जिल्लाको हेटौंडा उपमहानगरपालिका–१९ मा, कैलाश गाउँपालिका वडा नम्बर ३, ४, ७ र ८ मा, मकवानपुरगढीको वडा नम्बर ८ मा र मनहरी गाउँपालिकाको वडा नम्बर ४ र ६ मा गरि ५० वटाका दरले खरको छानो फेर्ने कार्यक्रम रहेकोमा पहिलो चरणमा हेटौंडा–१९ मा ४० वटा घरको छानो फेरीएको तथा बाँकी रहेका हेटौंडामा १० घर र अन्य गाउँपालिकामा छनौट गर्न बाँकी १५० घर धुरी संख्या छनौट गरि आजको बैठकबाट अनुमोदन गरिएको आयोजना प्रमुख प्रकाश अर्यालले जानकारी दिनुभयो । बैठकबाट अनुमोदन भएका लाभग्राहीलाई उपमहानगरपालिका÷गाउँपालिकाबाट सम्झौता गरि निर्माण कार्य अगाडी बढाईने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।
बैठकमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तान, मकवानपुरगढी गाउँपालिका अध्यक्ष बिदुर हुँमागाईलगायतको सहभागिता थियो ।











