हेटाैंडा– मंगलबार आज थप ५ सय ३८ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएसँगै नेपालमा कुल संक्रमितको संख्या १० हजार ९९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज थप ४ सय ४८ जना पुरुष र ९० जना महिलामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । हाल सम्म ७६ जिल्लाका ९ हजार १ सय १५ जना पुरुष र ९ सय ८४ जना महिलामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमका अनुसार आज झापाका १२, सप्तरीका २१, मोरङका २, सुनसरीका ३, तह्रथुमका २, महोत्तरीका १२, अछामका ७, अर्घाखाँचीका २, बागलुङका १४, बझाङका २२, बाजुराका २०, डडेलधुराका ४, धादिङका १८, गोर्खाका २९, गुल्मीका ५, कैलालीका ३८, कञ्चनपुरका १७, कास्कीका ८, नवलपरासी पूर्वका २२, पर्वतका २२, प्युठानका ५०, रुपन्देहीका ३, रौतहटका १३, सर्लाहीका २, सिराहाका ७, स्याङजाका २२, पाल्पाका ४८, तनहुँका ८, धनुषाका ३९, लम्जुङका ५, दाङका १९, सल्यानका ४, सुर्खेतका २३, दैलेखका २२ तथा हुम्ला र कालिकोटका १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी कोरोना संक्रमण पुष्टि भएका दैलेखको दुल्लु नगरपालिका वडा नं. ३ का ४५ वर्षीय पुरूषको हिजो बेलुका मृत्यु भएपछि संक्रमण पछि मृत्यु हुनेको संख्या २४ पुगेको छ । यही असार ४ गते प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि सोही अस्पतालको आईसोलेसनमा उपचारका क्रममा मृत्यु भएको मन्त्रालयले जनाएको छ । उहाँ क्षयरोग र दमको समेत विरामी रहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

यसैगरी आज थप ७६ जना कोरोना भाइरसको संक्रमण मुक्त भएसंगै हाल सम्म संक्रमण मुक्त भई घर फर्किनेको कूल संख्या २ हजार २ सय २४ पुगेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार आज विभिन्न आईसोलेसन सेन्टरबाट ६८ जना पुरूष र ८ जना महिला संक्रमण मुक्त भएका छन् ।

नेपालमा हाल सम्म १ सय ८९ जना महिला र २ हजार ३५ जना पुरुष संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ । देशका विभिन्न प्रयोगशालामा हाल सम्म जम्मा १ लाख ८६ हजार ३ सय ६६ वटा पिसीआर तथा २ लाख ७१ हजार ५ सय ८४ वटा आरडिटी विधिबाट परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ९५ वटा पिसीआर तथा ३ हजार ७ सय ८१ वटा आरडिटी विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

यसैगरी आज देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा ८५ हजार ८ सय १३ जना रहेका छन् भने विभिन्न आईसोलेसन स्थलहरुमा ७ हजार ८ सय ५१ जना रहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।