फाइल तस्विर

हेटाैंडा– पछिल्लो २४ घण्टामा थप २७३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । याेसागै कुल संक्रमितको संख्या ५३३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे ।

यस्तै कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेकाे छ । नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. गौतमले पर्साका २५ वर्षीय पुरुष र निजगढ, बाराका ५ वर्षीय बालकको मृत्यु भएको जानकारी दिनुभयाे । पर्सामा जेठ २८ गते एक पुरुषको शव भेटिएको थियो । नारायण अस्पतालमा पोस्टमार्टमका क्रममा स्वाब संकलन गरिएको थियो र त्यही अस्पतालको ल्याबमा गरिएको परीक्षणमा कोनोरा संक्रमण पुष्टि भएको हाे ।

यस्तै बारा, निजगढका बालकको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको थियाे । निमोनियाले ग्रस्त उनको आरडीटी र पीसीआर दुबै टेष्ट पोजेटिभ आएको मन्त्रालयले जनाएकाे छ । याेसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।