हेटौंडाः मकवानपुर प्रहरीले दाङमा चोरी गरेको गहनासहित हेटौंडाबाट एक जनालाई पक्राउ गरेको छ । गत साउन ५ गते दाङको घोराही–१५ मा रहेको पसलबाट चोरी भएको गहना सहित प्रहरीले हेटौडा–१८ बस्ने रमेश कालिराजलाई पक्राउ गरेको हो ।
दाङ घोराही नगरपालिका–१६ बस्ने प्रकाश बिश्वकर्माको वडा नम्बर–१५ मा रहेको सुनचाँदी पसल गत साउन ५ गते चोरी भएको थियो । चोरी गर्ने मानिस मकवानपुरको हुन सक्ने भनी दाङ प्रहरीले मकवानपुर प्रहरीलाई खोजतलास गर्न पत्राचार गरेको थियो । सोहि पत्रका आधारमा मकवानपुर प्रहरीले खोजतलास गर्दा निज कालिराजलाई चोरीको गहनासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले शनिबार हेटौंडा–१० स्थित बसपार्कबाट पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले पसलबाट चोरी भएको चाँदिको पञ्चरत्न बाला, ब्रासलेट, औंठी, बाला र धातु तथा चाँदिका टुक्रालगायत ३ किलो ९ सय ५० ग्राम र नगद १० हजार बरामद गरेको जनाएको छ । कालिराजलाई प्रारम्भिक अनुसन्धान पश्चात आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय दाङ पठाउने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक यज्ञ प्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।