सरकारको नीति तथा कार्यक्रममा आइतबार संसदमा छलफल सुरु हुँदै छ । छलफलका लागि आइतबार (आज) बिहान ११ बजे संसद बैठक बस्दै छ । संसदीय प्रचलन अनुसार सबैभन्दा पहिले प्रतिपक्ष दलको नेताले नीति तथा कार्यक्रममा आफ्नो दलको धारणा राख्ने छन् । त्यसपछि नीति तथा कार्यक्रममा संशोधन दर्ता गराएका सांसदहरुले आफ्ना धारणा राख्नेछन् ।
नीति तथा कार्यक्रममा आइतबार र सोमबार दुई दिन छलफल गरेर मंगलबार प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम छ । यही जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्नुभएकाे थियाे । कोरोना संक्रमणका कारण यस वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिइएको छ ।
कोरोना भाइरस संक्रमणको जोखिमका कारण नीति तथा कार्यक्रममाथिको छलफल छोट्याउने निर्णय शनिबारको कार्यव्यवस्था समितिको बैठकले गरेको थियो । नेकपा नेतृ रेखा शर्माले कोरोना भाइरस संक्रमणको जोखिम रहेकाले धेरै दिनसम्म बैठक बसिरहनु उपयुक्त नहुने भएकाले छलफल छोट्याउने निर्णय भएको जानकारी दिनुभयाे ।
नीति तथा कार्यक्रममा धारणा राख्न चाहने सांसदहरुको नामावली दलहरुले सभामुखलाई उपलब्ध गराउने र बैठकमा सभामुखले ती सांसदहरुलाई बोल्न दिने प्रचलन छ । अघिल्ला बैठकहरुमा बोल्न नपाएको भन्दै सांसदहरुले आक्रोश पोखेका थिए । नीति तथा कार्यक्रममाथिको छलफलमा पनि त्यस्तै हुन सक्ने अनुमान गरिएको छ । त्यसैले शनिबारको कार्यव्यवस्था समितिको बैठकमा सभामुख अग्नि प्रसाद सापकोटाले सकेसम्म थोरै नाम उपलब्ध गराइदिन आग्रह गर्नुभएकाे थियाे ।