स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५० हजार किट प्राप्त भएको जनाएको छ । किट अभाव भएर परीक्षण रोकिएको समाचार आइरहेका बेला मन्त्रालयले आफूसँग ५० हजारको हाराहारीमा किट उपलब्ध भएको बताएको छ । मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा प्रवक्ता विकास देवकोटाले कोरोना परीक्षणका लागि आवश्यक पर्ने किट ५० हजारको हाराहारीमा रहेको बताउनुभयाे । उहाँले किट प्राप्त भएपछि परीक्षणको दायरा पनि बढाउने रणनीतिमा सरकार रहेको जानकारी दिनुभयाे ।

‘पीसीआर विधिबाट परीक्षण गर्ने दायरा बढाएका छौँ । ५० हजारको हाराहारीमा किट प्राप्त भएको छ । समग्र देशभर परीक्षणको संख्या बढाइँदै छ’ उनले भन्नुभयाे । स्वास्थ्य मन्त्रालयका अनुसार शनिबारसम्म प्रयोगशालामा पीसीआर विधिबाट १६ हजार ३ सय ९ जनाको नमुना परीक्षण गरिएको छ । त्यसैगरी, ५५ हजार ९ सय ३० जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ । २४ घण्टाको अवधिमा १ हजार ७ सय ४२ जनाको परीक्षण गरिएको छ । नेपालमा अहिलेसम्म १०९ जनामा कोरोना देखिएकोमा ३१ जना निको भएर घर फर्किएकाे तथा ७८ जनाको उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।