हेटाैंडा– विश्वभर काेरोना भाइरस (काेभिड १९) सङ्क्रमितहरु निको हुने क्रम बढेकाे छ । सङ्क्रमण देखिएकामध्ये अहिलेसम्म झण्डै साढे १२ लाख जना उपचारपछि निको भएका छन् । अहिलेसम्म विश्वभर ३७ लाख २६ हजार सात सयभन्दा धेरै काेराेना सङ्क्रमित भएका छन् भने १२ लाख ४१ हजार ९ सयभन्दा धेरै निकाे भएका छन् ।
सबैभन्दा धेरै अमेरिकामा दुई लाख ६ सयभन्दा धेरै निकाे भएका छन् । त्यसाे त काेराेना भाइरसबाट सङ्क्रमित हुने र ज्यान गुमाउनेकाे सङ्ख्या अमेरिकामा सबैभन्दा धेरै छ । अमेरिकामा १२ लाख ३७ हजार ६ सयभन्दा धेरै सङ्क्रमित भएकाेमा ७२ हजारभन्दा धेरैकाे ज्यान गएकाे छ ।
इटलीमा दुई लाख १३ हजारभन्दा धेरैमा सङ्क्रमण देखिएकाेमा ८५ हजार दुई सयभन्दा धेरै निको भएका छन् । जर्मनीमा एक लाख ६७ हजारभन्दा धेरैमा सङ्क्रमण देखिएकाेमा एक लाख ३५ हजारभन्दा धेरै निकाे भएका छन् । इरानमा ८० हजारभन्दा धेरै, चीनमा ७७ हजारभन्दा धेरै, टर्कीमा ७३ हजारभन्दा धेरै र फ्रान्समा ५२ हजारभन्दा धेरै निकाे भएका छन् । काेराेनाकाे कारण विश्वभर दुई लाख ५८ हजार दुई सयभन्दा धेरैकाे ज्यान गएकाे छ । नेपालमा अहिलेसम्म ८२ जनामा सङ्क्रमण पुष्टि भएकाेमा १६ जना उपचारपछि निकाे भएका छन् ।