हेटाैंडा– नेपालमा कोरोना भाइरस (कोभिड-१९) सँगै औलो रोगको प्रकोप पनि बढ्ने खतरा देखिएकाे छ । कोरोनाको सङ्क्रमण फैलिन नदिन भन्दै क्वरेण्टीनमा राखिएका व्यक्तिहरुमा परीक्षण गर्दा औलोको लक्षण पनि देखा परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गर्मीयाम बढेसँगै औलोको लक्षण पनि देखिन थालेकोले व्यक्तिगत तथा वातावरणीय क्षेत्रकाे सरसफाइमा विशेष ध्यान दिन मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत आग्रह गर्नुभएको छ ।विश्वमा औलो रोगका कारण औसत दुई मिनेटमा एक जना बालबालिकाको ज्यान जाने गरेको छ । यो समयमा विशेषगरी गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा विशेष ध्यान पुर्याउन पनि प्रवक्ता देवकोटाले आग्रह गर्नुभएको छ । शनिबारसम्ममा १४ हजार सात सय ७१ जना विभिन्न क्वरेण्टीनमा रहेका छन् ।
देशभर ४९ हजार ३ सयको कोरोना परीक्षण
देशभर ४९ हजार तीन सय ३६ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । ९ हजार ६ सय ६६ जनाको पीसीआर विधिमार्फत र ३९ हजार ६ सय ७० जनाको र्यापिड डायग्नाेस्टिक टेस्ट (आरडीटी) मार्फत परीक्षण गरिएको प्रवक्ता देवकोटाले बताउनुभयो । काठमाण्डौमा तीन जना र कामठमाण्डौबाहिर ८४ जना गरी ८७ जना आइसोलेशनमा रहेका छन् ।
यस्तै मोबाइल एप्लिकेशनमार्फत अहिलेसम्म २६ हजारभन्दा धेरैले आफ्ना जिज्ञासा राखेका छन् । उनीहरुमध्ये तीन जनामा कोरोनाको शङ्का गरिएको छ ।कोरोना सङ्क्रमित ४९ जनामध्ये १२ जना निको भएर घर फर्किएका छन् भने बाँकी ३७ जनाको स्वास्थ्य अवस्था पनि सामान्य रहेको मन्त्रालयले जनाएको छ ।