हेटौंडाः हेटौंडा उपमहानगरपालिकाकी नगर कार्यपालिका सदस्य रुपा खुलाललाई विभिन्न व्यक्ति तथा संघसंस्थाहरुले उपचारको लागि आर्थिक सहयोग प्रदान गरेको छ । स्तन क्यान्सरबाट पीडित खुलालको थप उपचारको लागि अनेमसंघ मकवानपुर र गोले तामाङ वंश उत्थान समाज मकवानपुले आर्थिक सहयोग प्रदान गरेको हो ।
अनेमसंघ मकवानपुरको संयोजनमा १० हजार, अनेमसंघ र क्रान्तिकारीका तर्फबाट ६१ हजार, समाबेसी आयोगकी सदस्य बिष्णु ओझाका तर्फबाट ५ हजार , ३ नम्बर प्रदेशसभा सदस्य जुनेली श्रेष्ठले ५ हजार र जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले ४ हजार, उपप्रमुख भगवती पुडासैनीले ५ हजार रकम सहयोग गर्नुभएको छ । अनेम संघ मकवानपुरकी अध्यक्ष पार्बती रानाको संयोजक्त्वमा खुलाल हाल भाडामा बस्दै आउनुभएको हेटौंडा–४ स्थित घरमा पुगेर सहयोग रकम हस्तान्तरण गरिएको थियो । खुलाललाइ समाबेसी आयोगकी सदस्य बिष्णु ओझा, ३ नम्बर प्रदेशसभा सदस्य जुनेली श्रेष्ठले सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो । सहयोग रकम हस्तान्तरण गर्न जिल्ला समन्वय समिति मकवानपुरकी उप प्रमुख भगवती पुडासैनीलगायत ४० जनाको समुह पुगेका थिए ।


त्यस्तै शनिबारै गोले तामाङ वंश उत्थान समाज मकवानपुले खुलाललाई २५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । गोले बन्धु समाजकी जिल्ला सदस्य समेत रहनुभएकी खुलाललाई समाजका केन्द्रीय सदस्यद्वय आकाशकुमार गोले र शुभरत्न गोले, समाजका मकवानपुर अध्यक्ष राजकुमार गोले, उपाध्यक्ष दिनेश गोले र सल्लाकार जिवन गोलेले संयुक्तरुपमा सहयोग हस्तान्तरण गर्नुभएको हो । यसअघि नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका सभापति आनन्दराम पराजुली र हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष राजेश बानियाँले पनि आर्थिक सहयोग प्रदान गर्नुभएको थियो ।