मकवानपुर– मकवानपुरमा शनिबार दैनिक उपभोग्य वस्तुको उपभोक्ता मूल्य सार्वजनिक गरिएको छ । मकवानपुर उद्योग वाणिज्य संघले खाद्यान्न व्यवसायी संघसँगको समन्वयमा दैनिक उपभोग्य वस्तुको मूल्यसूचि सार्वजनिक गरेको हो ।
लकडाउनका कारण उपभोग्य वस्तुमा व्यवसायीले मूल्यवृद्धि गर्ने आशंका सर्वसाधारणले गरिरहँदा मकवानपुर उद्योग वाणिज्य संघले सम्बन्धित व्यवसायीसँग समन्वय गरी थोक र उपभोक्ता मूल्य अर्थात खुद्रा मूल्य सूचि सार्वजनिक गरेको जनाएको छ । खाद्यान्न व्यवसायी संघसँगको समन्वयमा ३२ किसिमका उपभोग्य वस्तुको थोक र उपभोक्ता मूल्य सार्वजनिक गरेको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले जानकारी दिनुभयो । केही व्यवसायीले मूल्यसूचिको विषयमा सकारात्मक नदेखिए पनि संकटका बेला व्यवसायीहरुबाट गलत काम नहोस् भनेर सतर्कताका लागि पनि प्रभावकारी हुने ठानेर मूल्य सूचि सार्वजनिक गरिएको उहाँको भनाइ छ । लक डाउनको अवस्था भए पनि खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको आयात तथा खरिद विक्रीका लागि केही सहज भएकोले मकवानपुरमा मूल्य वृद्धि नभएको व्यवसायीहरुले बताएका छन् ।
खाद्यान्न व्यवसायी संघ मकवानपुरका अध्यक्ष विजय सागर श्रेष्ठले खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको पर्याप्त आयात भइरहेकोले मूल्यमा खासै घटबढ नभएको बताउनुभयो । ढुवानी लागत भने केही बढेको उहाँले बताउनुभयो । लक डाउनअघि प्रतिकेजी ७० पैसासम्म पर्ने ढुवानी खर्च अहिले करिब एक रुपैयाँ पुगेकोले कुनै कुनै वस्तुको थोक मूल्यमा केही बढी जस्तो देखिए पनि अन्य सबै वस्तुमा लक डाउन अघिकै मूल्य कायम रहेको श्रेष्ठले बताउनुभयो । आज सार्वजनिक गरिएको मूल्य एक सातासम्म जारी रहने र कुनै वस्तुमा उल्लेख्य कम–बढी भए सोहीअनुसार केही सुधार गरिने उहाँले बताउनुभयो ।

यस्ताे छ मुल्यसुची: