हेटाैंडा– कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले दैनिक उपभोग्य बस्तुको आपूर्ती सहज बनाउन त्यसको उत्पादन, ढुवानी र वितरणका गतिविधिलाई अवरोध नपुर्याई न्यूनतम आवागमन खुल्ला गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा शुक्रबार साँझ बसेको बैठकले जनजीवन सहज बनाउन दैनिक उपभोग्य वस्तुको ढुवानीलाई सहज बनाउने र ठूला उद्योग तथा कलकारखानाहरू बन्द नै राख्ने निर्णय गरेको सरकारका प्रवक्त एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले जानकारी दिनुभयो ।

यसैगरी बैठकले लकडाउनका कारण आवागमन बन्द हुँदा अलपत्र परेका विदेशी पर्यटक तथा कल–काराखानाका मजदुरलाई उद्धार गरी सुरक्षित रूपमा गन्तव्य सम्म पुर्याउने निर्णय गरेको छ ।बैठकले पर्यटन बोर्डले समन्वय गरी पर्यटकलाई सुरक्षित रूपमा उद्धार गरी स्वदेश फर्कन व्यवस्था मिलाईदिने निर्णय गरेको मन्त्री डा खतिवडाले जानकारी दिनुभयो । यसैगरी बैठकले विदेशमा रहेका नेपाली विद्यार्थीहरू लाई खर्च पठाउन चाहने अभिभावक हरूलाई विदेशी मुद्रा सटहीको सुविधा दिने पनि निर्णय गरेको मन्त्री खतिवडाले बताउनुभयो । यसैगरी समितिले हिजै सातै प्रदेशका मूख्य मन्त्रीहरूसंग भिडियो कन्फ्रेन्स मार्फत कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश स्तरमा भएका गतिविधि तथा तयारीका बारेमा छलफल गरेको थियो ।