अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी ३८ जनाको मृत्यु हुनुका साथै १८ जना बेपत्ता भएका छन । बाढी पहिरोमा परी १२ जना घाइते भएका छन भने ६४ जनाको सकुशल उद्दार गरिएको नेपाल प्रहरीका प्रवक्ता विश्व राज पोखरेलले जानकारी दिनुभएको छ । बाढी पहिरोका कारण ओखलढुंगामा ५, मकवानपुरमा ४, काठमाडौं, खोटाङ, ललितपुर र काभ्रेपलाञ्चोक मा ३–३ जना, भोजपुर, धादिङ, धनुषा र सिन्धुलीमा २–२ जना तथा पर्सा, रामेछाप, पाल्पा, ईलाम, झापा, सुनसरी, बारा, सप्तरी र चितवनमा १–१ जना गरी ३८ जनाको मृत्यु भएको हो ।
सिन्धुलीमा ६ जना, भोजपुरमा ३ जना तथा काठमाडौं, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, धादिङमा १–१ जना गरी हालसम्म १८ जना अझै वेपत्ता छन् । प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार मकवानपुरको कैलाश गाउँपालिका–१० म¥याङकोटका अन्दाजी ५०÷५५ वर्षका सानुकान्छा सुनारको स्थानीय डुर खोला तर्ने क्रममा बगेर मृत्यु भएको छ । थाहा नगरपालिका–३ दम्की बस्ने १४ वर्षीया सन्तमाया बलामीको मृत्यु भएको छ । मकवानपुरको थाहा नगरपालिका–७ स्थित आग्रा चल्तिको बलला भिरबाट लडेर एकजनाको ज्यान गएको छ । ज्यान जानेमा रौतहट जिल्ला विजयपुर नगरपालिका–६ का वर्ष २८ का उमेश यादव रहेको प्रहरीले जनाएको छ । पहिरोले पुरेर ईन्द्रसरोवर गाउपालिका–२, हासुले बस्ने १४ वर्षीया सृष्टि डिमडुङको पनि मृत्यु भएको छ । शुक्रबार दिउसो ३ बजे घर माथिबाट आएको पहिरोमा परी पुरिएकी डिम्डुङको शव शनिबार बिहान ९ बजे निकालिएको थियो । बाढी पहिरोमा परी सिन्धुलीमा ४ जना तथा काठमाडौं, पाचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, धादिङ, ललितपुर र भोजपुरमा एक÷एक जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । सेना, प्रहरी र सशस्त्र प्रहरी डुवानबाट प्रभावित स्थानहरुमा क्षति न्यूनीकरण र उद्दारमा खटिएका छन् । काठमाडौं उपत्यकामा ८ हजार ८ सय ५६ जना प्रहरी खटिएका छन् । देशभरमा २७ हजार ३ सय ८० जना प्रहरी उद्धारमा खटिएका छन् । पहिरो तथा बाढीको कारण लामो तथा छोटो दूरिका सडकहरु अवरुद्ध भएका छन् । पहिरो पन्छाउने, भत्किएका, भासिएका सडक मर्मत गरी सुचारु गर्ने कार्य भइरहेको छ । यसैगरी, मकवानपुरमा ३ जना, काभ्रेमा २ जना तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरी र चितवनमा १–१ जना,गरी हालसम्म १२ जना घाइते भएका हुन् । बाढी तथा पहिरोबाट प्रभावित सम्पूर्ण स्थानहरुमा सम्बन्धित प्रहरी कार्यालयहरूबाट सम्पूर्ण जनशक्ति तथा स्रोत साधन परिचालन गरी उद्दार तथा वेपत्ताको खोजी कार्य जारी रहेको र विभिन्न स्थानमा भएको बाटो अवरोध समेत प्रहरीले हटाउने कार्य गरिरहेको प्रहरीले जनाएको छ । काठमाडौंमा ४२ , उदयपुरमा १० , ललितपुरमा ३ , सिन्धुलीमा ४, सिराहामा २ , भक्तपुर, सुनसरी र मकवानपुरमा १–१ जना गरी ६४ जनाको सकुशल उद्दार गरिएको प्रहरीले जनाएको छ । मकवानपुरको विभिन्न स्थानमा बाढी र पहिरोका कारण जनजीवन प्रभावित बनेको छ । हेटौंडा उपमहानगरको ५ नम्बर वडाका गर्दोई, शान्तिनगर, सानोपोखरा, पिप्ले क्षेत्र शुक्रबार डुबानमा परेको थियो । शनिबार जनजीवन सामान्य भएको छ । शुक्रबार दिउसोदेखि प्रभावित बनेको खानेपानी तथा विद्युत सेवा शनिबार साझदेखि सुचारु भएको छ ।