मकवानपुर– बागमती प्रदेश सरकारले धादिङ, नुवाकोट र रसुवा जिल्लालाई प्रदेशको राजधानी हेटौंडासंग जोडन गृह कार्य सुरु गरेको छ । प्रदेश रमजधानीबाट टाढाका जिल्लाबाट प्रदेश राजधानी सम्म आउनका लागि नजिकको मार्ग पहिल्याउने उदेश्यका साथ आईतबार मकवानपुरको पश्चिमी क्षेत्रको अवलोकन समेत गरिएको छ । प्रदेश राजधानीसंग जोड्ने छोटो मार्ग पहिल्याउने उदेश्यका प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री रामेश्वर फुयाल सहितको टोलीले मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिका हुँदै जाने सडकको स्थलगत अवलोकन गर्नुभएको हो ।

मन्त्री फुयाल सहितको टोलीले मकवानपुरको मनहरी बजारदेखि रसुवागढी सम्म पुग्ने छोटो बाटो कुन हुन सक्छ भनेर स्थलगत अवलोकन गरेको हो । टोलीले मनहरी बजार हुँदै राक्सिराङ गाउँपालिकाको सदरमुकाम चैनपुर, चौकिटार, भार्ता, सानूटार, डाडाखर्कसम्मको मकवानपुर खण्डको अवलोकन गरेको छ । उक्त सडकलाई रसुवाको बोर्डर सम्म सम्म पुर्याउने प्रदेश सरकारको योजना रहेको छ । बागमती प्रदेशको धादिङ, नुवाकोट र रसुवालाई प्रदेश राजधानी हेटौंडा जोड्न छोटो बाटो पहिल्याउन मुख्यमन्त्री डोरमणि पौडेलको निर्देशन अनुसार स्थलगत अवलोकन गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै टोलीले मनहरी हुँदै सिम्पानी, देबकोट, सरिखेत, सानूटार, डाडाखर्क सम्मको समेत अवलोकन गरेको छ । अवलोकनका क्रममा मन्त्री फुयाल सहितको टोलीले विभिन्न स्थानमा आर्थिक समृद्धि प्राप्त गर्नका लागि सम्भावित क्षेत्रका विषयमा गाउँपालिकाका अध्यक्षहरुसंग छलफल समेत गर्नुभएको थियो । टोलीले राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तान, महनरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीसंग आर्थिक समृद्धि प्राप्त गर्ने सम्भावनाका विषयमा छलफल गर्नुभएको हो । गाउँपालिका अध्यक्षहरुले आ–आफ्नो गाउँपालिकाको अवस्था र गर्नुपर्ने कामका विषयमा जानकारी गराउनुभएको थियो । गाउँपालिका अध्यक्षहरुले कृषि र पर्यटनका मध्यमबाट देशमा समृद्धि प्राप्त गर्न सकिने तथा यस क्षेत्रमा कृषि र पर्यटनको सम्भावना प्रवल रहेको भन्दै सडक सञ्जालसंग जोडिन सके उपलब्धी हासिल गर्न सकिने बताउनुभएको थियो । छलफलमा मन्त्री फुयालले सबैको सकृयताले आर्थिक समृद्धि प्राप्त गर्न सकिने हुँदा सबैको योगदान र सहकार्य हुनुपर्ने बताउनुभयो ।
अनुगमन टोलीमा बागमती प्रदेश सभा सदस्य ओम बहादुर ग्लान, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, पुर्व सांसद केदार न्यौपाने, पुर्व जिल्ला विकास समितिका सभापति रामेश्वर राना, हेटाैंडा–९ का वडा अध्यक्ष लक्ष्मण प्रसाद भणडारी, नेकपा मकवानपुरका नेता एकालाल श्रेष्ठलगायतको सहभागिता थियो ।