हेटौँडा, असोज १६ । हेटौँडा उपमहानगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित ’हाम्रो हेटौँडा’ पाठ्यपुस्तकको वितरण सुरु गरेको छ । उपमहानगरपालिकाले कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यपुस्तक तयार गरेर वितरण सुरु गरेको हो ।
शुक्रबार एक कार्यक्रमकाबीच हेटौँडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले हेटौँडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयका कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरूलाई उक्त पुस्तक वितरण गर्नुभएको छ । स्थानीय पाठ्यक्रममा आधारित उक्त पाठ्यपुस्तकको माध्यमबाट विद्यार्थीहरूले स्थानीय परिवेश, मौलिकता, कला, संस्कृति र स्थानीय विषयवस्तुबारे विस्तृत रूपमा अध्ययन गर्ने अवसर प्राप्त गर्ने जनाईएको छ ।
हेटौँडाका सामुदायिक र संस्थागत दुवै विद्यालयमा पठनपाठन हुने गरी तयार गरि वितरण गरिएको उपमहानगरपालिकाले जनाएको छ । पाठ्यपुस्तक प्राप्त भएसंगै उपमहानगरभित्रका ६७ वटा सामुदायिक विद्यालयका कक्षा १ देखि ८ सम्मका १८ हजार ११ जना र ४८ वटा संस्थागत (निजी) विद्यालयका १८ हजार २८५ जना गरी कुल ३६ हजार २९६ जना विद्यार्थीले स्थानीय पाठ्यक्रमअनुसारको पुस्तक अध्ययन गर्न पाउने भएका छन् । स्थानीय विशेषता र आवश्यकतालाई समेटेर तयार पारिएको पाठ्यपुस्तकको कार्यान्वयनसँगै बालबालिकामा आफ्नै ठाउँको बारेमा व्यावहारिक ज्ञान र पहिचानप्रतिको अपनत्व अझ बलियो हुने विश्वास लिइएको मेयर लामाले बताउनुभएको छ ।












