मकवानपुर, असोज ५ । मदन भण्डारी फाउण्डेशन मकवानपुरका संस्थापक अध्यक्ष श्रीचन्द्र शर्माको स्मृतिमा स्थापित “श्रीचन्द्र शर्मा स्मृति सम्मान” बाट तीलकुमारी ढकाल सम्मानित हुनु भएको छ । जननेता मदनकुमार भण्डारीको हीरक जयन्ती तथा मदन भण्डारी फाउण्डेसनको २७ औं स्थापना दिवसका अवसरमा सोमवार हेटौंडामा आयोजित कार्यक्रममा ढकाललाई नगद १५ हजार ५५५ रुपैयाँ नगदसहित ‘श्रीचन्द्र शर्मा स्मृति सम्मान–२०८३’ बाट सम्मान गरिएको हो ।
निरंकुश पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा भूमिगत राजनीतिक नेताहरूलाई आफ्नै घरमा आश्रय र संरक्षण दिनुभएको भन्दै सम्मानित गरिएको हो । ढकालले पञ्चायती शासनको कठोर र जोखिमपूर्ण अवस्थामा मकवानपुरको तत्कालीन विकट क्षेत्र ठिङ्गनमा प्रतिबन्धित पार्टीका भूमिगत नेताहरूलाई आफ्नो घरमा सुरक्षित आश्रय दिनुभएको थियो । निरंकुशता विरुद्धको ऐतिहासिक आन्दोलनमा उनले पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान प्रदान गरिएको फाउण्डेसनले जनाएको छ । उहाँलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल र फाउण्डेसनका अध्यक्ष खुलाललगायतले संयुक्त सम्मानित गर्नुभएको थियो ।
हीरक जयन्ती तथा फाउण्डेसनको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा दीप प्रज्वलनसमेत गरिएको फाउन्डेसनका अध्यक्ष रघुनाथ खुलालले जानकारी दिनुभयो । फाउण्डेसन मकवानपुरका अध्यक्ष खुलालको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व सांसद एवम् एमाले नेता केदार न्यौपाने, भीमफेदी गाउँपालिकाका अध्यक्ष तथा नेकपा एमाले मकवानपुरका अध्यक्ष हिदम लामा, गैरसरकारी संस्था (गैसस) महासंघ बागमती प्रदेशका अध्यक्ष कमल कुमार विश्वकर्मा, लगायतले जननेता मदन भण्डारीको विचार र योगदानबारे चर्चा गर्नुभयो । कार्यक्रममा फाउन्डेसनका उपाध्यक्ष बोलबहादुर कार्कीले स्वागत गर्नुभएको सचिव कुमार केसीले बताउनुभयो ।












